विराटनगर समाचारदाता
विराटनगर, चैत ७ गते । विगतका वर्षमा खेतीको सिजन सुरु हुनासाथ रासायनिक मलको अभाव खेप्दै आएका कोशी प्रदेशका किसानले यस वर्ष भने राहत महसुस गरेका छन् । विशेष गरी हिउँदे मकै र चैते धानको सिजनमा यस पटक मलको अभाव भएको गुनासो सुनिएको छैन ।
कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय विराटनगरका अनुसार हाल यस क्षेत्रमा मलको आपूर्ति र मौज्दात सन्तोषजनक छ । कार्यालयका निमित्त प्रमुख कमल पोखरेलका अनुसार साबिकका १६ वटा जिल्ला (कोशी प्रदेशका १४ र मधेश प्रदेशका सिराहा र सप्तरी) मा मल आपूर्तिको व्यवस्था चुस्त बनाइएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विराटनगर कार्यालयसँग मात्र करिब १४ हजार मेट्रिक टन युरिया मल मौज्दात छ । प्रादेशिक स्तरको समग्र मौज्दात विवरण हेर्ने हो भने युरिया १६ हजार ८५६ मेट्रिक टन, डिएपी दुई हजार ४७२ मेट्रिक टन र पोटास तीन हजार ४१२ मेट्रिक टन सुरक्षित रहेको देखिएको छ । यसमध्ये करिब सात हजार मेट्रिक टन मल आकस्मिक अवस्थाका लागि ‘बफर स्टक’ का रूपमा राखिएको छ ।
“यस वर्ष हामीले हिउँदभर नियमित रूपमा मल आपूर्ति गरिरहेका छौँ,” निमित्त प्रमुख पोखरेलले भन्नुभयो, “गत वर्ष एउटा डिलरलाई तीन पटक मात्र मल दिइएकोमा यस वर्ष छ पटकसम्म उपलब्ध गराइसकिएको छ ।” मकै खेतीमा युरिया, डिएपी र पोटासको अत्यधिक माग हुने भए पनि आपूर्ति व्यवस्था सहज भएकाले अभाव हुन नपाएको उहाँको दाबी छ । विराटनगरमा युरियाको मूल्य प्रतिबोरा ७५० रुपियाँ तोकिएको छ भने अन्य स्थानमा ढुवानी खर्च अनुसार केही फरक पर्छ ।
मल वितरणलाई व्यवस्थित गर्न कोशी प्रदेशका करिब ७५० वटा सहकारी परिचालन गरिएका छन् जसमध्ये विराटनगर कार्यालयले मोरङ, भोजपुर र सङ्खुवासभाका ३२५ सहकारीमार्फत मल पु¥याइरहेको छ । बाँकी जिल्लामा बिर्तामोड, इटहरी, इनरुवा र धनकुटा जस्ता शाखा कार्यालयबाट वितरण भइरहेको छ । आगामी चैते धान र बर्से धान खेतीका लागि समेत कम्पनीले तयारी तीव्र पारेको छ । बर्से धानका लागि आवश्यक कोटा निर्धारण गरी केन्द्रसँग माग गरिसकिएको र केन्द्रले पनि नियमित टेन्डर प्रक्रिया अघि बढाएकाले भविष्यमा पनि अभाव नहुने विश्वास कार्यालयको छ ।
यद्यपि अन्तर्राष्ट्रिय परिस्थितिले भने केही चुनौती थप्न सक्ने उहाँको विश्लेषण छ । “हालको अवस्थामा मलको पर्याप्त उपलब्धता छ तर मध्य पूर्वमा जारी युद्ध लम्बिएको खण्डमा अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा समस्या आउन सक्छ,” पोखरेलले सतर्क गराउनुभयो । यस्तो सम्भावित चुनौतीलाई ध्यानमा राख्दै सरकारले बेलैमा कदम चाल्नुपर्ने र आपूर्ति व्यवस्थालाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ । हाललाई भने कोशीका किसान ढुक्क भएर मकै र चैते धान गोडमेलमा व्यस्त छन् ।