• ७ चैत २०८२, शनिबार

वेसहारा लिलाको उपचारमा जुटे महिला अधिकारकर्मी

blog

लिलादेवी साहको कुरुवा बसेर उपचार गराइरहेकी मानवअधिकारकर्मी गीता साह र जानकी यादव । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, चैत ७ गते ।
लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा एक सातादेखि उपचाररत बोल्न नसक्ने अपाङ्ग ४१ वर्षीया लिलादेवी साहको उपचारमा लहानका महिला मानवअधिकारकर्मीहरू जुटेका छन् ।

लहान–२३ की लिलादेवी साह कोभिड–१९ महामारीको समयमा पक्षघात भएपछि बोल्न नसक्ने अवस्थामा पुग्नुभएको थियो । त्यसयता महिला मानवअधिकारकर्मी गीता देवी साह र जानकी यादवले अभिभावकको भूमिका निर्वाह गर्दै धरान र विराटनगरसम्म लगेर उपचार गराउँदै ज्यान जोगाउन सक्रिय रहँदै आउनुभएको छ ।

केही दिनयता पुनः बिरामी परेपछि उहाँलाई प्रादेशिक अस्पताल, लहानमा भर्ना गराई दुवै अधिकारकर्मीले उपचार गराइरहेका छन् । आफ्नै परिवारका सदस्यले उपचार गर्न अस्वीकार गरेपछि उहाँहरूले अभिभावकत्व ग्रहण गर्दै उदाहरणीय कार्य गरेका छन् ।

सिरहाको भगवानपुर गाउँपालिका–२ मा विवाह भएकी लिलादेवी साहसँग पतिले सम्बन्धविच्छेद गरेपछि माइती र ससुराली दुवै पक्षले बेवास्ता गर्नुभएको थियो । त्यसपछि उहाँ लहानका होटलहरूमा भाडा भाँडा माझेर जीविकोपार्जन गर्दै आउनुभएको थियो ।

कोभिडकालमा रक्तचाप बढेर पक्षघात भएपछि उहाँ बोल्नसमेत नसक्ने अवस्थामा पुगेको मानवअधिकारकर्मी गीता साहले बताउनुभयो । उहाँका अनुसार माइती पक्षलाई सम्पर्क गरी अस्पतालमा कुरुवा बस्न आग्रह गर्दा कोही पनि आउन तयार भएका छैनन् । इलाका प्रहरी कार्यालय लहानमार्फत परिवारलाई सम्पर्क गराउने प्रयास पनि सफल नभएपछि आफूहरू आलोपालो कुरुवा बसेर उपचार गराइरहेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति सिरहाका सदस्यसमेत रहेकी अर्की महिला अधिकारकर्मी जानकी यादवले पीडित महिलाहरूको समस्यामा सरोकारवाला निकाय गम्भीर नदेखिएको बताउनुभयो ।

मानवअधिकारकर्मी राजकुमार राउतले यस्ता वेसहारा तथा अपाङ्ग व्यक्तिको अभिभावकत्व स्थानीय सरकारले लिनुपर्ने र उपचारको जिम्मा पनि राज्यले लिनुपर्ने बताउनुभयो । उहाँले सामाजिक न्यायको अवस्था कमजोर रहेको उल्लेख गर्दै स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा व्यवस्था गरे पनि यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राख्नुभयो ।