हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत ७ गते । भारी हिमपातका कारण मुस्ताङको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउँसोदेखि वर्षासँगै उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा हिमपातले सञ्चार र विद्युत आपुर्तीमा अवरोधका कारण जनजीवन कष्टकर बनेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१मा अवस्थित मुक्तिनाथ मन्दिर, रानीपौवा, खिङ्गा लगायतका बस्तीमा भारी हिमपातले मन्दिरमा दर्शन गर्न विहानै पुगे लागि तीर्थयात्री तथा पर्यटकहरू समस्यामा परेका छन । एक्कासी प्रतिकुल मौसमसँगै हिमपात भएपछि तल्लो मुस्ताङको भ्रमणमा गएका पर्यटक तथा तिर्थालुलाई सुरक्षित यात्राका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले शुक्रबारदेखि भइरहेको हिमपात शनिबार विहानदेखि रोकिएपनि बाख्लो हिउँका कारण सवारीसाधनमा यात्रा गर्न सावधानी अपनाउनुभयो । वडा अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘अहिले तिर्थालु मन्दिरमा जान थाल्नुभएको छ, हिउँमा सवारीसाधन दुर्घटना हुन सक्ने भएकाले सचेत बनाएका छौ ।’’ हिमपातले मुक्तिनाथ मन्दिरलाई छपकैं छोपेको छ भने आसपासको क्षेत्र सेताम्मे भएको मन्दिरका व्यवस्थापक दिनेश भुषालले बताउनुभयो। मन्दिरको प्रवेशद्धारदेखि मन्दिरको धारा, स्नान गर्ने कुण्ड लगायत आसपासका क्षेत्रमा बाख्लो हिउँ छ । हिमपातसँगै रोकिएका पर्यटकमा हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै मन्दिर क्षेत्रमा रहेको हाइअल्टिच्युड सेन्टरमा समेत स्वास्थ्यकर्मी विहानै पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको एक प्रहरी चौकीमा सञ्चार सम्पर्क बिच्छेद हुदाँ विवरण सङ्कलनमा समस्या भइरहेको भएपनि अन्य स्थानबाट नियमित जानकारी लिइरहेको बताउनुभयो । हिमपात र बर्षाले चिसो बढेको छ । मुस्ताङमा यो सिजनको छैठौं पटकको हिमपातले विभिन्न रोगको प्रकोप समेत न्यूनिकरणमा समेत सघाएको छ । फागुन, चैत्र महिनामा हुने हिमपात र बर्षाले एकबाली हुने उपल्लो क्षेत्र र प्रयाप्त सिचाईको अभावका कारण नियमित उत्पादनमा ह्रास आउने अवस्थामा सम्रग जिल्लाभर उत्पादन वृद्धि हुने कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ ।





