• ७ चैत २०८२, शनिबार

बागलुङमा ५० करोडका एघार सडक आयोजना सञ्चालनमा

blog

बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा स्तरोन्नती गरिएको सडक । तस्बिर सौजन्य : पत्रकार खेमराज गौतम

नवराज नेपाली
बागलुङ (गलकोट) चैत ७ गते ।
बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना एकसाथ स्तरोन्नतिको चरणमा पुगेका छन् । सडक डिभिजन कार्यालयअन्तर्गत अहिले बागलुङका विभिन्न स्थानमा एघार सडक ठेक्का मार्फत धमाधम स्तरोन्नति भइरहेका छन् । दुई करोडदेखि २५ करोड रुपियाँसम्मका बागलुङ जिल्लाभर ११ सडक धमाधम स्तरोन्नति भइरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

२०७९ सालमा ठेक्का सम्झौता भएको गलकोट नगरपालिकाको हरिचौर–मल्म–पाण्डवखानी–रमुवा–भिमगिठे–निसीखोला सडक २५ करोड लागतमा कालोपत्रका लागि स्तरोन्नति अन्तिम चरणमा पुगेको हो । कार्यालयबाट सञ्चालित सबैभन्दा ठुलो योजनाको रुपमा रहेको उक्त सडकको भौतिक प्रगती ७० प्रतिशत रहेको छ । अन्य १० सडक भने २०८१ यता मात्रै सम्झौता गरेका सडक हुन् ।

जिल्लाभर सडक डिभिजन कार्यालय मार्फत ४९ करोड ५४ लाखका ११ सडकको स्तरोन्नति भइरहेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार अन्य योजना २०८१ पछिको सम्झौता भएपनि हरीचौर–मल्म–पाण्डवखानी सडक कालोपत्रमा ढिलाइ भइरहेको छ ।

पाखुते–बायोखोला–झिम्पा–निसी सडकखण्डमा पहिरो पन्छाउने, सडक खन्ने तथा सडक स्तरोन्नतिको काम भइरहेको छ । एक करोड ५८ लाख लागतमा एमएस इन्द्रेणी जावला जेभीसँग सम्झौता भएर काम भइरहेको छ । उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ ।

यस्तै गलकोट नगरपालिका–१० स्थित रणसिंहकिटेनी दोभानदेखि रामुवा सडक खण्डमा एक करोड ३२ लाखमा एमएसकोण्डा सर्वसिद्धि जेभीसँग २०८२ मंसिरमा ठेक्का सम्झौता गरी धमाधम स्तरोन्नतीको काम शुरु गरिएको छ । यस्तै अछेते–मुल्ठाना–सिम सडक स्तरोन्नतिका लागि दुई करोड ११ लाखमा ठेक्का सम्झौता गरी काम अघिबढेको छ । हालै सुरु गरिएको उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ ।

यस्तै फलेवास नगरपालिकाको दुल्लेबेंसी–अमरपुरी–दरौदी–सुन्तलाचौर सडक सुधारका लागि करिब दुई करोड ४३ लाखमा धमाधम सडक स्तरोन्नति भइरहेको छ । उक्त सडकको प्रगति ६० प्रतिशत पुगेको छ । उक्त सडक २०८३ असारमा हस्तान्तरण भइसक्नुपर्ने हुन्छ ।

त्यस्तै आदर्श प्रावि डाँडाथरदेखि स्यालपाखाहुँदै भैरवस्थान जोड्ने सडकमा समेत सतरोन्नतिको काम भइरहेको छ । दुई करोड १७ लाख लागतमा उक्त सडकको काम ५४ प्रतिशत सम्पन्न भइसकेको हो । यस्तै मंगलीखोला–धाम्जा–बेलढुंगा–म्याग्दी सडक दुई करोड २९ लाखमा ठेक्का २०८२ पुसमा सम्झौता गरी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

यस्तै बाङ्गेचौर–उपल्लाचौर सडक सुधारका लागि ६ करोड ७२ लाखमा २०८१ माघमा सम्झौता गरी स्तरोन्नति भएर कालोपत्रको चरणमा पुगेको छ । उक्त सडक कालोपत्र गर्न ग्राभेलको तयारी भइरहेको छ । यस्तै बागलुङ नगरपालिका–३ रात्माटा–कोलको–घुम्ती–रिठाबोट–पाखाथर हुँदै कुँडुले जोड्ने सडकमा दुई करोड २५ लाखको लागतमा ५५ प्रतिशत सडक स्तरोन्नति, बागलुङको डोठेतालदेखि राम्तोला सम्मको सडक दुई चरणमा पाँच करोड ५० लाखमा स्तरोन्नति भइरहेको छ ।