अनिल पराजुली
हेटौँडा, चैत ७ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ईद–उल–फित्र पर्वले सम्पूर्ण नागरिकमा नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
ईद–उल–फित्रका अवसरमा शनिबार शुभकामना दिँदै उहाँले यस पवित्र पर्वले बागमती प्रदेशसहित समग्र राष्ट्रमा समृद्धि, सुशासन र शान्ति कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले ईद इस्लाम धर्मावलम्बी समुदायले मनाउने महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसले आफ्ना मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । साथै, आपसी प्रेम, सद्भाव र एकताको भावना सुदृढ बनाउने माध्यमका रूपमा इद पर्व रहेको उहाँको भनाइ छ ।
प्रदेश प्रमुख देवकोटाले इद–उल–फित्रको सुखद अवसरमा बागमती प्रदेशसहित देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायप्रति सुख, शान्ति, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त देश भएको उल्लेख गर्दै उहाँले संविधानले अंगीकार गरेको धर्मनिरपेक्षता र विविधताबिचको एकता नै नेपालको मौलिक पहिचान भएको स्पष्ट पार्नुभयो ।
एक महिनासम्मको रमजान अवधिमा गरिएको आत्मशुद्धि र उपासनापछि मनाइने ईद पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र भाइचारालाई थप मजबुत बनाउने उहाँको विश्वास छ ।