• ७ चैत २०८२, शनिबार

राज्य नै अभिभावक भएको अनुभूति गराउँछौँ

blog

भवानीदत्त भट्ट

बेलौरी (कञ्चनपुर), चैत ७ गते । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महताले नागरिकले सरकार होइन, सरकारले नागरिक खोज्ने परिपाटी विकास गरिने बताउनुभएको छ । सरकारले नागरिकको अवस्था बुझ्न सके मात्रै मुलुकको आमूल परिवर्तन सम्भव हुने धारणा उहाँको छ । 

महता भन्नुहुन्छ “दसकौँदेखि यहाँका जनताले राज्य नै अभिभावक हो भन्ने कुरा अनुभूति गर्न सकेका छैनन् । यहाँको विकास र सुधारका लागि जनताले यस पटक हामीलाई अवसर दिएका छन् । हामीले जनमतको कदर गर्दै काम गरेर आफूहरूलाई  सही साबित गर्नु पर्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी महताले मुलुकका नागरिकले पाउने शिक्षा, स्वास्थ्यको अवस्थाका विषयमा जनगुनासो व्यापक रहेको उल्लेख गर्दै ती समस्यालाई क्रमशः सुधार गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गुणस्तरीय शिक्षा, उचित स्वास्थ्य सेवाको अभाव जस्ता गुनासा समाधान गर्न नीतिमै सुधार आवश्यक छ ।”

यसै गरी संविधानमा सुनिश्चित गरिएका सबै किसिमका हक प्रत्येक नागरिकले प्राप्त गर्ने अवस्था सिर्जना गर्न आफूहरू प्रयासरत रहने महताको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हामी नागरिकमैत्री सेवा प्रवाहमा जोड दिने छौँ । सरकारी कार्यालयबाट दिइने सेवा अनलाइन प्रणालीबाट प्रवाह गर्ने व्यवस्था मिलाउँदै नागरिकलाई छिटो सहज सेवा प्रदान गर्ने पद्धति विकास गर्ने छौँ । सेवाग्राही लामो लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गरिने छ ।” निर्वाचनपछि मतदाताका गुनासा सुन्न गाउँबस्तीमा पुगेका महताले निकुञ्ज आसपासका बस्तीमा जनावर आतङ्क, हात्ती आतङ्क, खराब सडक, विद्यालय, स्वास्थ्य, पूर्वाधारका समस्या व्याप्त देखिएकाले यी समस्या समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “२४ वर्षमा ३४ आयोग बन्दा पनि आरक्षपीडितका समस्या समाधान हुन सकेको छैन । अबका दिनमा आयोगले गरेका कामको पनि निगरानी गरिने छ ।” उहाँले आरक्षपीडित, भूमिहीन सुकुमवासी, अव्यवस्थित बसोबासी, भूमिहीन दलितका समस्या यथाशीघ्र समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

समयसापेक्ष वैज्ञानिक ढङ्गबाट नीतिनिर्माण गर्दै अगाडि बढ्ने, काम गर्ने कर्मचारीलाई पुरस्कृत तथा काम नगर्ने कर्मचारीलाई दण्ड जरिबाना गरिने उहाँको भनाइ छ । उहाँ बेरोजगार युवालाई स्वदेशमै रोजगारीका कार्यक्रम सिर्जना गरिने बताउनुहुन्छ । 

कञ्चनपुरमा विगत एक दशकयता छाडा पशुचौपायाको समस्या व्याप्त रहेकाले उचित नीति लागु गरेर छाडा पशुचौपायाको समस्या समाधान गर्ने पनि उहाँको योजना छ । बुवा धनबहादुर र आमा द्रोपती महताको कोखबाट विसं २०४२ माघ १८ गते बैतडीको शिवनाथ गाउँपालिका–४ मा जन्मिएका महता सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ । १३ वर्ष पत्रकारिता गरेका महताले पत्रकारिता क्षेत्रबाट समाजका समस्या उठान गर्दै आउनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै सक्रिय  महता  गत  फागुन २१ गते सम्पन्न निर्वाचनमा कञ्चनपुर–३ बाट २७ हजार ११८ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।