• ७ चैत २०८२, शनिबार

ईदले सामाजिक सद्भाव र एकता सुदृढ गर्छ :मुख्यमन्त्री बानियाँ

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ

अनिल पराजुली
हेटौँडा, चैत ७ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्रले सामाजिक सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

शनिबार ईद पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्दै समाजवादको लक्ष्य हासिल गर्न सबै नेपाली एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यो पर्वले आपसी एकता, सहकार्य र सहिष्णुता अभिवृद्धि गर्दै सामाजिक समरसता कायम गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पवित्र रमजान महिनाभर उपवास बस्दै आत्मसंयम, सहनशीलता र नैतिक अनुशासनको अभ्यासपछि मनाइने इद–उल–फित्रले आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछ ।

मुख्यमन्त्री बानियाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतायुक्त देश भएकाले विविधताबीचको एकता नै राष्ट्रिय पहिचान भएको उल्लेख गर्नुभयो । विभिन्न जातजाति र धर्मावलम्बीका मौलिक परम्परा तथा संस्कृतिले समाजलाई अझ सुदृढ बनाउने उहाँको भनाइ छ ।

उहाँले यस्ता पर्वहरूले समुदायबीच समझदारी, एकता र सहकार्य बढाउँदै देशमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । साथै, सबै धर्म, भाषा र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

पर्वका अवसरमा मुख्यमन्त्री बानियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभएको छ ।