• ७ चैत २०८२, शनिबार

गुल्मीमा चट्याङबाट ६ जना घाइते, एक गम्भीर

blog

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), चैत ७ गते ।
गुल्मीको मालिकामा चट्याङ लागेर छ जना घाइते भएका छन्। चट्याङबाट मालिका गाउँपालिका–२ दर्लिङका ३२ वर्षीया गोमा खड्का, २८ वर्षीय निरु खड्का र २९ वर्षीय विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो। गोमाको छाती, नाक र आँखामा चोट भएका कारण अवस्था गम्भीर रहेको छ । उनीहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

त्यस्तै चट्याङले मालिका गाउँपालिका–३ ह्ववाङ्दीका ६४ वर्षीय नारायण थापा, नातिनी ३ वर्षीयाआस्मा गिरी र ६ वर्षीया  आशिका गिरी घाइते भएका छन् । नारायण थापाको टाउकोमा चोट रहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी घाइते दर्लिङ्गका विष्णु खड्काको एक बाख्रा र सोही स्थानकी बाली बिकको दुई बाख्राको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो। ह्ववाङदिमा गोकर्ण थापाको बोका चट्याङले जलेर मृत्यु भएको छ। शुक्रबार अबेर हावाहुरीसहित पानी र चट्याङ परेको थियो ।