गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ७ गते । नागरिक समाज सम्बद्ध पर्यवेक्षण संस्थाहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित, स्वतन्त्र तथा तुलनात्मक रूपमा निष्पक्ष भएको निष्कर्ष निकालेका छन् ।
विभिन्न १० नागरिक समाज सम्बद्ध संस्थाले शुक्रबार राजधानीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी निर्वाचनमा अपेक्षाकृत कम मत खसे पनि कठिन परिस्थितिमा निष्पक्ष सम्पन्न हुनु लोकतान्त्रिक अभ्यासको सकारात्मक सङ्केत भएको उल्लेख गरेका हुन् ।
यस्तो निचोड निकाल्ने ती संस्थामा गैरसरकारी संस्था महासङ्घ नेपाल (गैसस), नेपाल मतदाता अधिकार मञ्च, इन्सेक, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल, सङ्घीय बहसमा युवा, युवालाया, युथ एड्भोकेसी नेपाल, महिला, कानुन र विकास मञ्च, महिला सेवा संस्था तथा नेपाल सामूहिक अभियान रहेका छन् ।
यी संस्थाले निर्वाचनमा केही स्थानमा छिटपुट समस्या देखिए पनि कुनै ठुलो अवरोधबिना निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि मानिएको उल्लेख गरेका छन् । साथै निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र मतदान केन्द्र व्यवस्थापनमा निर्वाचन आयोग र सरकारले प्रभावकारी भूमिका खेलेको पनि प्रतिवेदनमा जनाइएको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष अर्जुन भट्टराईले पर्यवेक्षणका लागि १० वटा संस्थाबाट सातै प्रदेश र ७७ जिल्लामा करिब एक हजार ५५० पर्यवेक्षक परिचालन गरिएको बताउनुभयो । उहाँले स्थिर र घुम्ती पर्यवेक्षकसहित संवेदनशील क्षेत्रमा विशेष टोली खटाइएको जानकारी दिनुभयो ।
अध्यक्ष भट्टराईले निर्वाचन अघिदेखि पछिसम्म काम गरेर प्रतिवेदन तयार पारिएको र अब यसलाई राष्ट्रिय निर्वाचन आयोगमा हस्तान्तरण गरिने बताउँदै भन्नुभयो, “निर्वाचनमा भएका राम्रा कामका बारेमा पनि उल्लेख गरेका छौँ तर यसका कमीकमजोरीलाई उल्लेख गरेर हामीले सल्लाह सुझाव दिने छौँ । यसले आगामी निर्वाचनका लागि पनि सुधार गर्न सहयोग मिल्ने छ ।”
पर्यवेक्षणपछि तयार पारिएको प्रतिवेदनमा आठ वटा विषयमा सुधारको आवश्यकता रहेको जनाइएको छ । जसमा मतदाता शिक्षा, मतदाता शिक्षा सामग्री, पर्यवेक्षकको सहज प्रवेश, मोबाइल वा आवश्यक सामग्री लैजान लगाइएको रोक परिमार्जन गर्नुपर्ने जनाइएको छ । सुरक्षाका दृष्टिले छिटपुट घटना भए पनि समग्र मतदान प्रक्रिया प्रभावित नभए पनि दार्चुला, दाङ र ओखलढुङ्गा जिल्लाका केही केन्द्रमा शून्य मतदान भएको उल्लेख छ ।