लुम्बिनी समाचारदाता
लुम्बिनी, असोज १० गते । गृहमन्त्री बालकृष्ण खाणले नेपाल बहुभाषा, जाति, समुदाय, धर्म, संस्कृतिले बनेको उल्लेख गर्दै धार्मिक सहिष्णुता सधैँ आवश्यक रहेको बताउनुभएको छ। विविधता नेपालको सम्पत्ति भएको भन्दै उहाँले यसलाई अवसरका रूपमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डीस्थित शिव मन्दिर धर्मशालाको आइतबार उद्घाटन गर्दै गृहमन्त्री खाणले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले ठूलो सङ्ख्यामा रहेका हिन्दुले अन्य सम्प्रदायलाई पनि सम्मान गर्नुपर्ने बताउनुभयो। कुनै पनि द्वन्द्वले मुलुक र जनताको हित नहुने भन्दै उहाँले नेपालले बेलाबेलामा ठूलो द्वन्द्व बेहोर्नुपरेको स्मरण गर्नुभयो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खाणले रुपन्देहीको विकासले यहाँका नागरिक तथा उद्योगी व्यवसायीलाई मात्र नभई समग्र नेपालीलाई प्रतिफल दिने भन्दै यहाँको विकासका लागि सम्पूर्ण शक्ति लगाउनुपर्ने बताउनुभयो। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको र अन्य एयरलायन्सलाई यहाँ ल्याउनका लागि प्रयत्न भइरहेको जानकारी उहाँले गराउनुभयो। उहाँले उद्योगी व्यवसायीको सुरक्षा गर्ने दायित्व सरकारको भएकाले देशभरिका उद्योगी व्यवसायीको सुरक्षामा गम्भीरताका साथ लाग्न सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभयो।
त्यस्तै लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दिन खानले मठ, मन्दिर, शिक्षा क्षेत्रमा विकासमा मन्त्री खाणले महìवपूर्ण कार्य गर्नुभएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा उहाँको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीको १० लाख र स्थानीयवासीको पाँच लाख गरी १५ लाखको लगानीमा धर्मशाला निर्माण गरिएको सिद्धार्थनगर–६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिनुभयो।