• ९ मंसिर २०८१, आइतबार

भारतले जित्यो सिरिज

blog

काठमाडौं, असोज १० गते । अष्ट्रेलियाविरुद्ध तीन खेलको टी-२० सिरिज घरेलु टोली भारतले जितेको छ । हैदराबादमा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।

यससँगै भारतले सिरिज २-१ ले जितेको हो । अष्ट्रेलियाले दिएको एक सय ८७ रनको विजय लक्ष्य भारतले १९.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । भारतका लागि सूर्यकुमार यादवले ६९ र विराट कोहलीले ६३ रन बनाउनुभयो ।

हार्दिक पाण्डेयले २५ तथा रोहित शर्माले १७ रन बनाउनुभयो । बलिङमा अष्ट्रेलियाका डेनियल साम्सले दुई तथा प्याट कमिन्स र जोस हेजलउडले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि टिम डेभिडले सर्वाधिक ५४, क्यामरुन ग्रिनले ५२, डेनियल साम्सले अविजित २८ र जोस इंग्लिसले २४ रन बनाउनुभयो ।

बलिङमा भारतका अक्षर पटेलले तीन तथा युजभेन्द्र चहेल, हर्षल पटेल र भुवनेश्वर कुमारले एक एक विकेट लिनुभयो । यसअघि पहिलो खेलमा अष्ट्रेलिया चार विकेट र दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो।