• ११ असोज २०८१, शुक्रबार

हलेसीमा पर्यटक गाइड

blog

खोटाङ समाचारदाता

खोटाङ, असोज १० गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित त्रिधार्मिक स्थल हलेसी मन्दिरमा पर्यटक गाइड राखिने भएको छ। हलेसीमा आउने पर्यटकलाई त्यसको महत्त्व बुझाउन नगरपालिकाले पर्यटक गाइड राख्ने अवधारणा अगाडि सारेको हो। 

धार्मिक तथा सांस्कृतिक रूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। हलेसीमा महादेव गुफा, पापद्वार, धर्मद्वार, भैरव गुफा, बसाहा गुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका विभिन्न जिल्लासँगै भारत, बङ्गलादेश, भुटानलगायतका देशबाट पनि भक्तजन आउने गरेका छन्।  

पर्यटकलाई हलेसीको महत्त्वको विषयमा विभिन्न ढङ्गले वर्णन गर्ने गरेको हुँदा अब आधिकारिक गाइडबाट आधिकारिक रूपमा पर्यटक तथा भक्तालुलाई यसको महत्त्व तथा वास्तविकता भनिने नगरप्रमुख विमला राईले बताउनुभयो। “विभिन्न धारणाका साथ हलेसीलाई वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ। जसकारण त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषयविज्ञबाट तालिम दिएर आधिकारिक गाइड राख्न लागेका छौँ,” प्रमुख राईले भन्नुभयो।  

हलेसीमा हिन्दु, बौद्ध र किराँत धर्म मान्नेहरू आआफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन्। हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई पशुपतिनाथका रूपमा, बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनीका रूपमा र किराँत धर्मावलम्बीहरूले आदिम भूमिका रूपमा पूजाआजा गर्ने गरेका छन्। हिन्दु, बौद्ध र किराँत तीनैवटा धर्मको आआफ्नै छुट्टै इतिहास रहेको जानकारहरू बताउँछन्। सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्न लागेको बताइएको छ। 

नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टसँग सहकार्य गरेर नगरपालिकाले तालिम दिन लागेको हो। तालिम सञ्चालनका लागि छलफल पनि भइसकेको नगरप्रमुख राईको भनाइ छ। केही समयपश्चात् तालिम प्रदान गर्नेगरी सूचना निकाल्न शुक्रबार बसेको नगर कार्यपालिकाको नियमित बैठकले निर्णयसमेत गरेको नगरका प्रवक्ता कमल गिरीले बताउनुभयो।  कम्तीमा एसएलसी वा एसईई उत्तीर्ण गरेका १५ देखि २५ जना व्यक्तिलाई नगरपालिकाले तालिम प्रदान गर्नेछ। तालिमपश्चात् उनीहरूलाई रोजगारस्वरूप आवश्यक मापदण्ड निर्धारण गरेर परिचालन गर्ने नगरपालिकाले जनाएको छ।