कविराज घिमिरे
हिले, चैत ६ गते । गर्मी मौसममा झरनाको चिसो पानीमा नुहाउन तथा जमेको पानीमा डुबुल्की मार्ने स्थलको रूपमा परिचित धनकुटाको नमस्ते झरना अहिले भने प्राय सुनसान छ ।
गत बर्खामा आएको बाढीले पौडी खेल्ने पोखरी तथा झरनासम्म पुग्ने पूर्वाधार भत्काएपछि झरनामा पर्यटकको सङ्खयामा कमी आएको हो । बाढीले झरनासम्म पुग्ने स्थानमा निर्माण गरिएको करिब एक सय मिटर सिँढी र पुल भत्किए भत्काएको थियो । झरनाकै कारण चहलपहल हुने सिमसुवा क्षेत्र अहिले सुनसान हुने गरेको नमस्ते झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बा बताउनुहुन्छ ।
पालिका तथा स्थानीय मिलेर क्षतिग्रस्त स्थानमा बाँस र काठ वाट वैकल्पिक पुल र सिँढी त निर्माण गरिएको छ । तर पर्यटकको डर घटाएको छैन । नमस्ते झरना भेडेटारपछि धनकुटाकै सबै भन्दा बढी पर्यटक पुग्ने स्थान हो । झरनामा पर्यटक घट्दा धनकुटाका अन्य स्थानलाई समेत असर पुग्ने गरेको छ । पहिले पहिले दैनिक तिन सय बढी तथा बिदाको दिन १५ सय भन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका थिए । अहिले यो तथ्याङ्क घटेर दैनिक एक सयको हाराहारीमा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्षमा ५७ लाखमा ठेक्का लागेको यो झरना पर्यटक घटेकै कारण यो बर्ष ठेक्का समेत लागेको छैन । नमस्ते झरनालाई पुरानै अवस्थामै फर्काउन भत्किएको पूर्वाधार निर्माणको लागि पालिकाले १० लाख र पालिकाकै पहलमा कोसी प्रदेश सरकारले १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपियाँ विनियोजन गरिएको छ । अब चाँडै नै काम सुरु हुने गाउँपालिका अध्यक्ष जितेन्द्र राई बताउनु हुन्छ । “हामीले बाढीले झरनाको पूर्वाधार क्षति हुने बित्तिकै स्थानीयको सहयोगमा अस्थायी संरचना निर्माण गरेका थियौ अहिले प्रदेश सरकार सँगको सहकार्यमा २५ लाखको लागतमा दिगो संरचना निर्माणको तयारी गरिरहेको छौं,” राई भन्नु हुन्छ ।
झरनाको गुमेको साख फर्काउन अव अझ व्यवस्थित, आकर्षित र सुरक्षित बनाउनुपर्ने होटेल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बु बताउनुहुन्छ । कोसी राजमार्गको भेडेटार सिम्सुवा खण्डको नमस्ते गोलाइबाट करिब एक किलो मिटरको पैदल यात्रा पछि नमस्ते झरना पुग्न सकिन्छ ।
झरनाकै कारण नमस्ते गोलाई आसपास अहिले दुई दर्जन बढी होटेल तथा लज सञ्चालनमा रहेका छन् । तर पर्यटकको प्रवाह कम हुँदा सबैभन्दा बढी र प्रतक्ष्य रुपमा ती होटेललाई परेको नमस्ते झरना व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिलीप सुब्बा बताउनुहुन्छ ।