बर्दिबास, असोज १० गते । विश्व पर्यटन दिवसका अवसरमा महोत्तरीमा आगन्तुकलाई भोजन र आवासमा ठूलो छुट दिने घोषणा गरिएको छ। सडक महोत्सव र सांस्कृतिक झाँकीजस्ता पहिचानमूलक कार्यक्रमको तयारीमा व्यवसायी जुटेका छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबासस्थित संस्कृति तथा पर्यटन प्रवर्धन समितिले जिल्लामा पहिलो पटक पर्यटन दिवसलाई भव्यतासाथ मनाउन औपचारिक तयारी गरेको हो।
४३औँ पर्यटन दिवस मनाउन दुवै आयोजकले संयुक्त रूपमा कार्यतालिका सार्वजनिक गरेका छन्। दिवसको आरम्भ असोज १० गते अपराह्न बर्दिबासको निकटवर्ती धार्मिकस्थल पञ्चधुरा माईको मन्दिरबाट गरिने जनाइएको छ । यसका लागि सबैको सहयोग र सहभागितामा मन्दिर सरसफाइ गरिने कार्यक्रम छ।
यस अवसरमा महोत्तरीको दक्षिणवर्ती भिट्ठामोड नाकाबाट नेपाल भित्रिने विदेशी आगन्तुकलाई प्रवेश बिन्दुमा खादा, माला लगाएर स्वागत र मिठाई ख्वाई सत्कार गर्ने कार्यक्रम तय गरिएको छ। दुवै आयोजकले ‘अतिथि देवो भव’को महत्व र सान्दर्भिकतालाई आत्मसात् गर्दै अतिथिको मानमनितोमा सहभागी हुन जिल्लावासीलाई आग्रह गरेका छन्। पर्यटन दिवस ‘पवित्र अवसर’ भएकाले असोज ९ देखि ११ गतेसम्म आगन्तुकलाई भोजनमा १५ प्रतिशत र आवासमा २५ प्रतिशत छुट दिने जनाइएको छ। यसका लागि होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जिल्लाका होटल तथा गेस्टहाउस व्यवसायीलाई आग्रह गरेको छ।
समारोहको दोस्रो दिन असोज ११ गते ‘सभ्यताको विकासमा पर्यटनको महत्वबारे जागरुकता अभिवृद्धि गर्न बर्दिबासमा र्याली र प्रभातफेरी आयोजना गरिने जनाइएको छ। सोही दिन जिल्लाको समग्र जातजातिको भेष, भाषा र संस्कृति झल्कने सडक महोत्सव आयोजनाको तयारी गरिएको छ।
होटल व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सुदीप कार्कीले जिल्लाको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन दिवस मनाउन लागिएको जनाउनुभयो। “यस्ता कार्यक्रम आयोजनाले जिल्लाको पहिचान र परिचयलाई विस्तार गर्नुका साथै यहाँको व्यापार व्यवसायमा टेवा मिल्ने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो। जिल्लाको मटिहानी, जलेश्वर, औरही र बर्दिबासमा धार्मिक, पौराणिक र पुरातात्विक महत्वका दुर्लभ मठमन्दिर भएकाले महोत्तरीले धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको छ। यी धार्मिक स्थल नेपाल–भारत ‘रामायण सर्किट’अन्तर्गत पर्ने भएकाले यी स्थलले विशिष्ट पर्यटकीय महत्व बोकेका छन्।
यसका साथै नयाँ गन्तव्यका रूपमा बर्दिबास नगरपालिका–३ स्थित सुदूर उत्तरवर्ती कालापानीको ‘पिकनिक स्पट’ले पनि प्रचार र पहिचान बनाउँदै लगेको छ। “पर्यटन महोत्सवको माध्यमले यी र यस्ता अन्य गन्तव्यको पहिचान र परिचय विस्तार गर्ने विश्वास लिएका छौँ,” बर्दिबासस्थित संस्कृति तथा पर्यटन प्रवर्धन समितिका अध्यक्ष हीरा गौतमले बताउनुभय।