• ११ असोज २०८१, शुक्रबार

चौँतीस मतदान स्थल अति संवेदनशील

blog

राधा लुइँटेल

फिदिम, असोज १० गते । पाँचथरका १०२ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन्। जिल्ला सुरक्षा समिति पॉचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण  गरेको हो।

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र १० वटालाई सामान्यमा वर्गीकरण गर्दै सोहीअनुसारको सुरक्षा योजना तर्जुमा गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएको हो।

वर्गीकरण गरिएमध्ये फिदिम नगरपालिकाका नौ, फालेलुङ गाउँपालिकाका ११, तुम्वेवाको एक, फाल्गुनन्दका तीनवटा र मिक्लाजुङका आठवटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा सूचीकृत गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो। उहाँका अनुसार फिदिम नगरपालिकाका तीन, याङवरक गाउँपालिकाका नौ, हिलिहाङका ११, कुम्मायकका १०, तुम्वेवाका आठ, फाल्गुनन्दका १२ र मिक्लाजुङका पाँचवटा मतदान केन्द्र संवेदनशील सूचीमा राखिएको छ। यस्तै फिदिम नगरपालिकाका नौ र याङवरक गाउँपालिकाको एक गरी नौवटा मतदान केन्द्र सामान्यको सूचीमा परेका छन्।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहु‘चसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो। अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने हुन्छ। सुरक्षा अधिकारीका अनुसार निर्वाचन सामग्री लैजाने र मतदानसँगै मतदानपश्चात् सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गरिन्छ। अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी र म्यादी प्रहरीस‘गै कर्मचारी व्यवस्थापन आदि पनि पर्छन्।