प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा वैदेशिक चलखेल बढेको बताउनुभएको छ । मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, र राजनीतिक अस्थिरता बढेको उहाँले दावी गर्नुभएको छ ।
स्वास्थ्य सेवामा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि सात सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिन लागिएको बताउनुभयो ।
झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले पाँच लाख २१ हजार भारतीय रुपियाँसहित पाँचजनालाई पक्राउ गरेको छ ।
काठमाडौंको एक खाजाघरमा नाबालिकालाई वेश्यावृती गर्न लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–७ घर भई हाल काठमाडौं–९ टोखा बस्ने २८ वर्षीया चिनिमाया लिम्बु छन् । लिम्बुलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले असार ३० गते पक्राउ गरेको हो ।
कलंकीस्थित नेपाल एसबीआई बैंकबाट नक्कली छाप र दस्तखत किर्ते गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ घर भई हाल ललितपुर–१५ सातदोवाटो बस्ने २१ वर्षीय वाशुदेव अर्याल रहेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटी मण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताउनु भएको छ ।
जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर १४३ किसानलाई भत्ता दिईएको हो ।
काठमाडौं, साउन १ गते । गायक बिकु क्षेत्रीको सुमधुर स्वरमा सजिएको 'दुधको साक्षी बिरालो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युवच्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा उहाँलाई चर्चित गायिका मेलिना राईले साथ दिनुभएको छ । गीतमा शब्द पेन्सलभेनियामा बस्दै आएका गीतकार ईट्टाघरेको रहेको छ । दिपक शर्माले संगीतवद्ध गर्नुभएको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माकोबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोमा नवराज उप्रेतीले छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। यस्तै, गीतकार ईट्टाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो । यसअघि गायक क्षेत्रीको स्वरमा रहेको 'जाऊ हिँड', 'दिल खोलेर भनन' लगायत भिडियोहरु सार्वजनिक भइसकेका छन् ।
काठमाडौं, साउन १ गते। उपसभामुख पुष्पा भुसाल (गौतम)ले पदभार ग्रहण गर्नुभएको छ।आइतबार सिंहदरबारमा पदबहाली गर्नुहुँदै उपसभामुख भुसालले छोटो समय भए पनि आफ्ना लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको हो।‘‘उपसभामुख भएसँगै जिम्मेवारी बढेको महसुस गरेको छु’’, पदभार ग्रहण गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘संविधानले उपसभामुखको पदबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारबाही अगाडि बढाउने छु ।’’ उहाँले सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेल्ने उल्लेख गर्नुहुँदै छोटो समय महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो।‘‘सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउने मेरो जिम्मेवारी रहेको छ । मलाई जति समय छ त्यो समय मेरा लागि अत्यन्त महत्त्वपूर्ण छ’’, उहाँले भन्नुभयो।आइतबार राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष उपसभामुख भुसालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। शपथ लिए लगत्तै उहाँ पदभार ग्रहणका लागि सिंहदबार पुग्नुभएको हो।भुसाल असार ३१ गते प्रतिनिधिसभाको उपसभामुख निर्वाचित हुनुभएको हो।
उपसभामुख पुष्पा भुसाल (गौतम)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
कोरोना संक्रमण कम हुँदैजाँदा यस वर्ष सोलुखुम्बुको खुम्बुक्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ । दुई वर्षसम्म करिब शुन्यको अवस्थामा रहेको खुम्बुको पर्यटन सगरमाथा लगायतका हिमाल आरोहणको यो ‘स्प्रिङ’ सिजनमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ८३ प्रतिशतभन्दा बढीले पर्यटकको आगमनमा बृद्धि भएको छ ।
त्रिभुवन विश्वविद्यालय, सरस्वती बहुमुखी क्याम्पसले “मौद्रिक नीतिः वर्तमान स्थिति र चुनौती” विषयक खुला छलफलको आयोजना गरेको छ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा ई–टिकटको सुरुवात गरिएको छ । विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै रेकर्ड प्रणालीलाई चुस्त दुरुत र सरल बनाउन आइतबारदेखि ई–टिकटको सुरुवात गरिएको हो ।
न्यु जेनिथ ‘बी’ ले प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । मनमैजुस्थित आयोजक एन्जल्स हार्ट माविको कोर्टमा आइतबार भएको फाइनल खेलमा न्यु जेनिथ ‘बी’ ले ऋत एकेडेमीलाई १८–१५ ले हरायो ।
सपना थामीकाठमाडौं, साउन १ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा उपलब्धताका लागि सम्बन्धित सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ। आइतबार राजधानीमा आयोजित चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गनुहुँदै राष्ट्रपति भण्डारीले उपचार गर्न ठूला शहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताउनुभयो। यसका लागि मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई जनताको आकांक्षा अनुसार व्यवस्था गर्न स्वेदशमा मेडिकल शिक्षाको प्रबर्धन गर्न अतिआवश्यक रहेको पनि बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालको संविधानले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने कुरालाई मौलिक हकको रुपमै व्यवस्था गरेको छ। सोही अनुसारको सेवा उपलब्ध गराउन राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गरी भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गर्न ढिलाइ गर्न हुँदैन।”उहाँले संस्थानले स्वास्थ्य सेवाका लागि आवश्यक निर्माणमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुहुँदै स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आवधिक प्रक्षेपणको आधारमा विशेषज्ञ डाक्टर, नर्सलगायतका स्वास्थ्य प्राविधिकको उत्पादनका लागि राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्दै भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो।“स्वास्थ्य शिक्षा तथा सेवाको क्षेत्रमा राज्यको एक अग्रणी संस्थाको रुपमा यस संस्थानले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति विकासका लागि निरन्तर नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरेको छु। विशिष्टिकृत स्वास्थ्य सेवाका लागि संस्थानको प्रयास, तयारी र योजनाको म प्रशंसा गर्न चाहन्छु। यसमा सबैको सहयोग अपेक्षित छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो। यसका लागि प्रदेश, भूगोल र क्षेत्रमा शिक्षा र सेवाको अवसरलाई विकेन्द्रीकृत गर्न अति आवश्यक रहेको उल्लेख गर्नुहुँदै उहाँले पायक पर्ने स्थानमा आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउनुपर्ने बताउनुभयो। स्वर्ण महोत्सवको अवसरमा राष्ट्रपति भण्डारीले संस्थानका पदाधिकारी, प्राध्यापक, डाक्टर, नर्स, प्राविधिकलगायत सम्पूर्ण कर्मचारीहरुलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो।