• १३ साउन २०८१, आइतबार

बढ्यो चुनावी सरगर्मी

blog

डडेल्धुरा समाचारदाता 

डडेल्धुरा, कात्तिक १५ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी सरगर्मी बढेको छ । 

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेस (बीपी)बाट चुनावी मैदानमा प्रधानमन्त्री देउवाको प्रतिस्पर्धी हुनुहुन्छ । डडेल्धुराबाट प्रधानमन्त्री देउवाले यसअघि छवटा संसदीय निर्वाचन जित्नुभएको थियो ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदको नेतृत्वमा चुनावी प्रचार अभियान अघि बढेको छ । साउदले महाकाली नदीमा पुल, पश्चिम सेती परियोजना कार्यान्वयन, डडेल्धुरा मेडिकल कलेज सञ्चालन, जिल्लाका पुराना सडक पक्की गर्ने, पुइलेक एयरपोर्ट निर्माण, कृषि आधुनिकीकरणजस्ता चुनावी एजेन्डा रहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का तर्फबाट निर्वाचन क्षेत्र १ (क)मा उम्मेदवार खगराज भट्टले आफू  प्रदेश सभाको उम्मेदवार भएर सत्ता गठबन्धनलाई सघाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “देश राजनीतिक रूपमा सङ्कटमा परेका बखत प्रधानमन्त्री देउवाले नेतृत्व लिनुभएको हो । उहाँकै नेतृत्वमा डडेल्धुराको मात्रै नभई देशकै समृद्धि र विकास हुने विश्वास छ ।”

स्थानीय तहको निर्वाचनमा जिल्लाका सात तहमध्ये दुई नगरपालिका र तीन गाउँपालिका नेपाली कांग्रेसले जितेको छ । नेकपा (माओवादी केन्द्र)ले बाँकी दुई पालिका जितेको छ । डडेल्धुराका ५२ वडामध्ये नेपाली कांग्रेसले २९ वडामा जित हात पारेको छ । यस्तै नेकपा (माओवादी केन्द्र)ले १३, नेकपा (एमाले)ले चार, नेकपा (एकीकृत समाजवादी)ले दुई, नेपाली कांग्रेस (बीपी)ले दुई र स्वतन्त्रले दुई वडामा जित हात पारेको छ । 

२०७४ मा वाम गठबन्धन हुँदा समेत नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट प्रधानमन्त्री देउवासँग छ हजार ९४८ मतले पराजित हुनुभएको थियो । २०६४ को निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट विक्रम शाही र नेकपा (माओवादी केन्द्र)को तर्फबाट खगराज भट्टलाई चुनावी मैदानमा हुनुहुन्थ्यो । २०७० को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट र नेकपा (एमाले)का डा. ताराप्रसाद जोशीलाई पराजित गर्दै प्रधानमन्त्री देउवा विजयी हुनुभएको थियो । 

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले डडेल्धुराका अधुरा योजना पूरा गर्ने, भौतिक पूर्वाधार निर्माणका कार्यक्रममा तीव्रता दिने, युवालाई दुव्र्यसनबाट मुक्त गराउने, धार्मिक शक्तिपीठको विकास र संरक्षण गर्ने, कृषि र स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नेलगायतका चुनावी मुद्दा अघि सार्नुभएको छ । 

प्रतिनिधि सभाका उम्मेदवार सागर ढकाल डडेल्धुरामा व्याप्त खानेपानी अभाव र गरिबीलाई अन्त्य गर्ने चुनावी एजेन्डा रहेको बताउनुभयो । डडेल्धुरा जिल्लाका विकट गाउँबस्तीमा खानेपानीको चरम अभाव रहेकाले आफूले जितेमा खानेपानी अभाव हुन नदिने ढकालले बताउनुभयो । सरकारी अड्डामा हुने भ्रष्टाचार अन्त्य गरेर समृद्ध जिल्ला निर्माण गर्न आफू सक्षम रहेको ढकालको भनाइ छ । 

प्रतिनिधि सभामा एक मात्र क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवा, नेपाली कांग्रेस (बीपी)का कर्ण मल्ल, राप्रपाका गोविन्द खडायत, जनता समाजवादीका श्याम सिनाल, स्वतन्त्रमा लालबहादुर खडायत, कर्णसिंह रावल र सागर ढकाल उम्मेदवार हुनुहुन्छ ।