• १३ साउन २०८१, आइतबार

इटुम्बहालमा चर्या नृत्य प्रदर्शनी

blog

काठमाडौँ, कात्तिक १५ गते । बुद्ध धर्मसँग सम्बन्धित लोपोन्मुख नाच चर्या नृत्यको संरक्षण र प्रवद्र्धनमा अहिले अमेरिकामा रहेको नृत्य मण्डला महाविहार पोर्टल्यान्ड बहाः जुटिरहेको छ। चर्या नृत्य गुरु प्रज्वलरत्न वज्राचार्यको समूह अहिले काठमाडौँ उपत्यकाका विभिन्न विहार, बहाःमा चर्या नृत्यको प्रदर्शनीमा व्यस्त रहेको छ। यसै क्रममा सो टिमले हालै इटुम्बहालमा चर्या नृत्य प्रदर्शनी गरेको छ।

केशचन्द्र पारावत महाविहार संरक्षण समाजको आयोजना र वज्राचार्य क्लबको सहयोगमा भएको सो चर्या नृत्यमा वज्रयोगिनी, रक्तगणेश, आर्यतारा, वज्रवाराहीलगायतका नृत्य प्रस्तुत गरिएको थियो। यी चर्या नृत्यका विविध उपनृत्य हुन्। चर्या नृत्य विशेषगरी पञ्चबुद्ध मानिएका अक्षोभ्या, रत्नसम्भव, अमिताभ, अमोघसिद्धि र वैरोचनका ध्यान मुद्रा र ध्यान भावलाई आत्मसात गरी नृत्यमा प्रस्तुत गरिन्छ।

चर्या नृत्य गुरु प्रज्वल रत्न वज्राचार्यले आफू वज्राचार्यको परम्परा र संस्कृतिलाई जोगाइरहन अमेरिकामा पनि यसको प्रवद्र्धनमा लागिपरेको जानकारी दिनुभयो। उहाँले अमेरिकाको पोर्टल्यान्डमा रहेर अमेरिकीहरूलाई चर्या नृत्यको प्रशिक्षण दिइरहनुभएको छ। यसैगरी केशचन्द्र पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष शाक्यले पोर्टल्यान्ड नृत्य मण्डलका गुरु वज्राचार्यले अमेरिका रहेर पनि बुद्ध धर्मको महान् परम्परालाई जोगाइराख्न दिएको योगदान अतुलनीय रहेको जानकारी दिनुभयो।