• ८ चैत २०८२, आइतबार

विद्यालयमा मूर्ति स्थापना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ८ गते । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–१, बालुवाटारस्थित ज्वालादेवी माध्यमिक विद्यालयमा स्थापित सरस्वती र गणेश मूर्तिको प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ । 

विद्यालयमा शनिबार आयोजित कार्यक्रममा प्राडा विद्यानाथ कोइराला, सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कोइराला, ज्येष्ठ नागरिक अमन्तिनाथ कोइराला, विद्यालयका पूर्वप्रधानाध्यापक रामकृष्ण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कौशल कोइरालालगायतले विद्यालयमा स्थापित स्वर्गीय ज्वालादेवी श्रेष्ठको प्रतिमाको सामूहिक रूपमा उद्घाटन गर्नुभएको थियो ।  

साबिकको देवीस्थान माध्यमिक विद्यालयलाई उपेन्द्रकुमार प्रधान, सुरेन्द्रकुमार प्रधान र पुरेन्द्रकुमार प्रधानले हजुरआमा ज्वालादेवी श्रेष्ठको नाममा १० रोपनी १५ आना दुई पैसा जग्गादान गर्नुभएको थियो । त्यसपछि विद्यालयको नाम परिवर्तन गरी ज्वालादेवी माध्यमिक विद्यालय राखिएको विद्यालयका प्रधानाध्यापक नारायण नेपालले जानकारी दिनुभयो । सोही विद्यालय प्राङ्गणमा स्वर्गीय ज्वालादेवी श्रेष्ठको प्रतिमासहित सरस्वती र गणेशको मूर्ति स्थापना गरिएको हो । ज्वालादेवीको प्रतिमा, गणेश र सरस्वतीको मूर्ति निर्माण तथा दाचेइँटसहितको मूर्ति स्थापना स्थलको निर्माणसमेत जग्गादाताले नै गर्नुभएको जनाइएको छ ।

सोही अवसरमा उपेन्द्रकुमार प्रधानले स्व. आमा लहरमाया प्रधान र स्व. जीवन सङ्गिनी पुण्यश्वरी प्रधानको नाममा पाँच लाख रुपियाँ अक्षयकोषको घोषणा गर्नुभएको थियो । त्यस्तै साबिक कुशेश्वर दुम्जा गाउँ विकास समितिका पूर्वअध्यक्ष शम्भुप्रसाद दाहालले छात्रवृत्ति कोष स्थापनाका लागि स्वर्गीय दिदी सीता सापकोटाको नाममा एक लाख एक हजार १०५ रुपियाँ नगद विद्यालयका  प्रधानाध्यापक नारायण नेपाललाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि विद्यानाथ कोइरालाले शिक्षासेवी, समुदायको सक्रियतामा सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा कसरी दिन सक्छ भन्ने उदाहरण ज्वालादेवी माविमा भएको चर्चा गर्नुभयो ।