• ८ चैत २०८२, आइतबार

गोरक्षपात्रदेवता–देवीपाटन यात्रा टोली भारतको जनकपुरमा

blog

गोरक्षपात्रदेवता सिद्धरतननाथ मन्दिरबाट देवीपाटनका लागि हिडेको साघुसन्तको टोलीलाई जनकपुरमा स्वागत गरिँदै ।

लीलाधर वली 
घोराही, चैत ८ गते ।
दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित गोरक्षपात्रदेवता सिद्ध रतननाथ मन्दिरबाट देवीपाटनका लागि हिडेको टोली भारत प्रवेश गरेको छ । चैतको १ गते एकादशीका अवसरमा घोराहीको चौघेरा मन्दिरबाट सुरु भएको यात्रा शनिबार भारतको जनकपुरमा पुगेको हो ।

घोराहीबाट प्रस्थान गरेको यात्रा लमही नगरपालिका वडा नं. ६ मा रहेको गोरक्षधाम देउपुरमा मन्दिर विश्रामपछि गढवाको कोइलाबासका लागि हिडेको थियो । कोइलाबासको मन्दिरमा एक दिनको विश्रामपछि भारत उत्तर प्रदेश बलरामपुरको जनकपुर मन्दिरमा गोरक्ष रत्ननाथको पात्रसहितको यात्रा पुगेको छ । जनकपुरमा दुई दिन विश्रामपछि ९ गते सोमवार बिहान विशेष तामझाम र रथसहितको यात्रा देविपाटन प्रस्थान गर्ने कार्यक्रम रहेको रत्ननाथ देविपाटन यात्रा मुल समितिका सदस्य सचिव डा.गोविन्द आचार्यले जानकारी दिनुभएको छ ।  

नेपाल भारतको सीमावर्ती क्षेत्र कोइलाबासबाट भारत प्रवेश गर्दा भारतीय भक्तजनले सीमावर्ती क्षेत्र कोइलाबासमा भव्य स्वागत गरेका थिए । सोमवार विभिन्न झाँकी रथयात्रा र तामझामसहित देवीपाटन पुग्ने भक्तजनको सहजताको लागि शुक्रबार यात्रा व्यवस्थापन समिति र देविपाटनका मठाधिशबिच आवागमनमा सुरक्षा सहजताका विषयमा परामर्श भएको छ ।

छलफलमा विभिन्न गोरक्षपात्र देवता सिद्धरत्ननाथको यात्राको सिलसिलामा सांस्कृतिक कार्यक्रमसहित भारत प्रवेश गर्ने नेपाली भक्तजनलाई भारतीय सीमा क्षेत्रमा सुरक्षा चेकजाँचको सहजताको लागी अनुरोध गर्दे सुरक्षाको नाममा यात्रामा पुगेकालाई अनावश्यक भन्झट र चेकजाँचको बहानामा दुःख नदिई निर्वाध आवागमनको प्रबन्ध मिलाउन आग्रह गरिएको छ ।

यात्रा आयोजक समितिका सदस्य सचिव डा आचार्य, मन्दिरका सल्लाहकार हरिप्रसाद पाण्डेयसहितको टोलीले देविपाटनका मठाधिश योगी मिथलेशनाथलाई भेटी रथयात्राको टोलीलाई सहजयात्राका लागि आग्रह गर्नुभएको छ ।

देवीपाटनका प्रमुख योगी मिथलेशनाथले आवागमनका सम्बन्धमा कुनै सन्देह नराख्न आग्रह गर्नुभएको थियो । यात्राका लागि आवश्यक सुरक्षा सहजताका लागि सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग कुराकानी भएको भन्दै  भन्नुभयो, ‘‘नेपाल भारतबिच युगौँदेखि हुँदै आएको यात्राकोे सहजताका लागि सीमा क्षेत्रमा आवश्यक प्रवन्ध मिलाइएको छ, त्यसमा कुनै असुविधा हुने छैन ।’’

नेपालबाट देवीपाटन पुग्ने गोरक्षपात्र देवताको स्वागतका लागि भारत उत्तर प्रदेशको जनकपुरदेखि देविपाटनसम्म पुग्ने विभिन्न सडक र चोकहरूमा स्वागतार्थ पोष्टर व्यानरहरूले सजाइएको छ । नेपालको तर्पmबाट गोरक्षपात्रदेवता सिद्धरत्ननाथको प्रतिकसहित हरेक वर्ष चैत्र पञ्चमीको दिन देवीपाटन पुग्ने धार्मिक परम्परा रही आएको छ । वि.सं. ८०९ देखि हरेक वर्ष देविपाटन यात्राको परम्परा चल्दै आएको इतिहास छ ।

विभिन्न स्थानको विश्राम पछि यो वर्ष चैत ९ गते पञ्चमी तिथिका दिन विशेष तामझाम र रथयात्रा सहित दाङबाट प्रस्थान गरेको यात्रा देविपाटन पुग्ने छ । चैत ९ देखि १४ गते दशमी तिथिसम्म ६ दिन गोरक्षपात्र देवता सिद्धरत्ननाथको देवता देविपाटनमा विश्राम हुने र उक्त अवधिभर नेपालबाट गएका पुजारीले पाटेश्वरी देविको पूजा आजा गर्ने परम्परा रहेको छ ।