विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ८ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले सहरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाको वडा नम्बर ८ स्थित पर्ने बेरियर–कञ्चनपुर–फत्तेपुर सडक खण्डमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तर्गत शनिबार सडकको दुवैतर्फ रहेका फुटपाथमा अतिक्रमण गरी बनाइएका अस्थायी छाना तथा संरचनाहरू हटाइएको नगरप्रमुख ललन प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
उहाँले सवारी आवागमनमा अवरोध पु¥याउँदै आएको ‘गुद्री बजार’ लाई समेत व्यवस्थापन गरिएको बताउनुभयो ।
नगरपालिकाका अनुसार उक्त कदम नागरिकलाई सास्ती दिन नभई सुरक्षित, सफा र सुन्दर सहर निर्माण गर्ने उद्देश्यले चालिएको हो । “स्वच्छ र सफा बेरियर” को परिकल्पनालाई मुर्त रुप दिन यो अभियान सुरु गरिएको नगरप्रमुख गुप्ताले स्पष्ट पार्नुभयो ।
यसैबीच, नगरपालिकाले आगामी दिनमा सडक तथा फुटपाथको मर्मत र स्तरउन्नति गर्ने, नियमित सरसफाइ तथा सौन्दर्यीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, साथै बजार क्षेत्रमा सवारी आवागमन र पैदलयात्रीमैत्री वातावरण सुनिश्चित गर्ने योजना अघि सारेको जनाएको छ ।
अभियानलाई सफल बनाउन जनप्रतिनिधि, नगर प्रहरी, प्राविधिक टोली तथा नेपाल प्रहरी र ट्राफिक प्रहरीको सहभागिता रहेको कञ्चनरु नगरपालिकाले जनाएको छ ।