• ८ चैत २०८२, आइतबार

बास्केटबल लिग : टाइम्सको लगातार पाँचौँ जित

blog

बास्केटबल लिगमा प्रतिस्पर्धा गर्दे खेलाडी ।

काठमाडौँ, चैत ८ गते । टाइम्स इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा पाँचौँ जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी प्रतियोगितामा टाइम्सले रोयललाई ९५–६१ ले हरायो । टाइम्सले २९–१७, १७–१४, २५–१८ र २४–१२ को नतिजा निकालेको थियो । टाइम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २४ स्कोर गर्नुभयो । 

लिगको पहिलो खेलमा गोल्डेनगेटसँग पराजित भएको टाइम्सले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेको हो । जितसँगै टाइम्सले ६ खेलबाट ११ अङ्क बनाएको छ । पाँचौँ हार खेपेको रोयलको समान खेलबाट सात अङ्क छ ।

यसअघि अर्को खेलमा त्रिभुवन आर्मी क्लबले प्लेबक्स एरेनालाई १०२–८६ ले हराएको थियो । नेपाल बास्केटबल सङ्घ (नेबा) ले आयोजना गरेको लिगमा आठ टोलीको सहभागिता रहेको छ ।

डबल राउन्ड रोविनका आधारमा सञ्चालित लिगमा कुल ५६ खेल हुने छ । लिगको विजेताले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपियाँ पुरस्कार पाउने छ ।