• १३ साउन २०८१, आइतबार

दार्चुलामा बडू र ठगुन्नाबीच प्रतिस्पर्धा

blog

मुख्य प्रतिस्पर्धी उम्मेदवार मन्त्री दिलेन्द्रप्रसाद बडू र पूर्वमन्त्री गणेशसिंह ठगुन्ना । तस्बिरः गोरखापत्र

दार्चुला, कात्तिक १५ गते । एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा जितका लागि गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । दार्चुलामा गठबन्धनका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री काङ्ग्रेस नेता दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका तर्फबाट पूर्व मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना चुनावी मैदानमा छन् ।

दार्चुलामा गत वैशाखमा सम्पन्न स्थानीय तहको नतिजा हेर्दा एमालेको पकड बलियो छ । पालिका निर्वाचनमा नेपाली काङ्ग्रेससँग गठबन्धन हुँदा माओवादी केन्द्रले चार गाउँपालिकामा जित हासिल गरेको छ । एमालेले दुई नगरपालिकासहित पाँच पालिकामा जित हात पार्दा काङ्ग्रेसले कुनै पनि स्थानीय तह अध्यक्ष वा प्रमुखमा जित हात पार्न सकेको छैन । २०४८ सालमा निर्वाचित भए यता बडूले पटक पटक सत्तामा बस्ने अवसर पाउँदै आउनुभएको छ । हालसम्म पाँच वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा समेत देखिने गरी जिल्लाका लागि काम गर्न नसकेको उहाँमाथि आरोप लाग्दै आएको छ ।

२०४८ र २०५६ मा बडूले दार्चुलाबाट प्रत्यक्ष निर्वाचन जित्नुभएको थियो भने २०७४ सालमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । २०५१ सालमा एमालेका स्वर्गीय नेता प्रेमसिंह धामीसँग बडू पराजित हुनुभएको थियो । मन्त्री बडू र पूर्व मन्त्री ठगुन्ना २०६४ सालको संविधानसभा निर्वाचन देखि चुनाव लड्दै आउनुभएको छ । २०६४ सालको निर्वाचनमा बडू र ठगुन्ना दुवै जना माओवादी नेता लक्ष्मणदत्त जोशीसँग पराजित हुनुभएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बडूलाई पराजित गर्दै ठगुन्नाले संसद्को यात्रा सुरु गर्नुभयो । 

२०७४ सालको निर्वाचनमा बडूले समानुपातिकमा आफ्नो सिट सुरक्षित गरेपछि ठगुन्नासँग काङ्ग्रेसका विक्रमसिंह धामीले प्रतिस्पर्धा गर्नुभयो । बाम गठबन्धनका साझा उम्मेदवार ठगुन्नाले धामीलाई छ हजार ७६५ मतान्तरले पराजित गरेर दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । यसअघि दुई पटक चुनाव लडेका बडू र ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा भइरहेको छ । यस पटक ठगुन्नाले चुनाव जिते उहाँको ‘ह्याट्रिक’ हुनेछ, बडूले चुनाव जिते पनि दार्चुलाबाट तेस्रो पटक प्रत्यक्ष चुनाव जितेर प्रतिनिधि सभा छिर्नुहुनेछ । ७० वर्षीय बडू र ५३ वर्षीय ठगुन्नाबीच यस पटकको चुनाव निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

यस्तो छ अङ्कगणित

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा दार्चुलाबाट एमाले उम्मेदवार गणेशसिंह ठगुन्नाले माओवादी केन्द्रको सहयोगमा २८ हजार ९९८ मत प्राप्त गर्नुभएको थियो । काँग्रेसका उम्मेदवार विक्रमसिंह धामीले ठगुन्नाको भन्दा छ हजार ७६५ कम अर्थात् २२ हजार २३३ मत प्राप्त गर्नुभएको थियो । अहिले गठबन्धनको समीकरण फेरिए पनि स्थानीय तह निर्वाचन २०७९ को नतिजा हेर्दा गठबन्धनभन्दा एमाले एक्लै बलियो देखिएको छ  । 

नौ स्थानीय तहमध्ये दुई नगरपालिकासहित पाँच पालिकाको प्रमुख एवं अध्यक्षमा एमालेले जित हात पारेको छ भने एक स्थानीय तहमा उपाध्यक्षसहित बहुमत हासिल गरेको छ । माओवादी केन्द्रले चार स्थानीय तहको नेतृत्व पाउँदा काङ्ग्रेस शून्य छ । जिल्लाका ९ स्थानीय तहका वडा अध्यक्षले पाएको मत हेर्दा गठबन्धनभन्दा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले सात सय सात मत बढी पाएका छन् । जिल्लामा नेकपा एमालेले वडा अध्यक्षतर्फ २९ हजार ३८५ मत पाएको थियो । यस्तै नेपाली काँग्रेसले २१ हजार २५४, नेकपा माओवादी केन्द्रले सात हजार ३०६ र नेकपा एकीकृत समाजवादीले ११८ मत पाएका थिए।  गठबन्धनले कुल २८ हजार ६७८ मत पाएको थियो । 

स्थानीय तहको निर्वाचनमा प्रमुखको मतलाई मात्र हेर्ने हो भने शैल्यशिखरमा एमालेले पाँच हजार ५०९ र गठबन्धनले चार हजार ६६२ मत पाएको छ । महाकालीमा एमालेले पाँच हजार तीन मत र गठबन्धनले तीन हजार ८८७ मत पाएको छ । मालिकार्जुन गाउँपालिकामा एमालेले चार हजार ३४ र गठबन्धनले तीन हजार ३२२ मत पाएको छ । नौगाडमा एमालेले तीन हजार २७७ र गठबन्धनले तीन हजार ७८३ मत पाएको छ । लेकममा गठबन्धनले दुई हजार ९७६ र एमालेले दुई हजार ४४५ मत पाएको छ । दुहुँमा गठबन्धनले दुई हजार ७९६ र एमालेले दुई हजार ८८६ मत पाएको छ । व्यासमा गठबन्धनले दुई हजार ३९६ र एमालेले दुई हजार ९४९ मत पाएको छ । 

मार्मामा गठबन्धनले तीन हजार ६१६ र एमालेले दुई हजार ९१४ मत पाएको छ । अपिहिमालमा गठबन्धनले दुई हजार ३१२ र एमालेले एक हजार ३८५ मत पाएको छ । समग्रमा काङ्ग्रेस, माओवादीसहितको गठबन्धनले प्रमुख पदमा २९ हजार ७५० मत पाउँदा एमाले एक्लैले ३० हजार ४०२ मत प्राप्त गरेको छ । 

चुनाव जित्ने दुवैको दाबी

आसन्न निर्वाचनमा आफूले जित्ने दाबी एमाले र गठबन्धन दुवैको छ । मन्त्री बडूलाई चुनाव जित्न गठबन्धनको भर पर्नुपर्ने देखिन्छ । पूर्व मन्त्री ठगुन्नाले पनि २०७४ को भन्दा कडा मेहनत गर्नुपर्ने देखिन्छ । एमालेमा सङ्गठन तथा आन्तरिक एकता बलियो हुनु, स्थानीय तह निर्वाचनको मत परिणाम अनुकूल हुनु, पालिका चुनावपछि काङ्ग्रेस, माओवादी र समाजवादीका केही प्रदेश र जिल्ला कमिटीका नेतासहित कार्यकर्ताले एमाले प्रवेश गर्नु, ठगुन्नाले विकासवादी नेताको छवि कायम राख्नु जस्ता कारणले जित सुनिश्चित रहेको दाबी गर्दै आएको छ । 

आफूले पाँच हजार बढी मतान्तरले चुनाव जित्ने प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्नाको भनाई छ । सच्चा कम्युनिस्टले काङ्ग्रेसलाई भोट नहाल्ने भएकोले कम्तीमा माओवादीको  ४० प्रतिशत र इमानदार काङ्ग्रेस कार्यकर्ताको २० प्रतिशत भोट आफूलाई प्राप्त हुने ठगुन्नाको दाबी छ । 

बडूलाई पनि माओवादी केन्द्रका मतदाताहरूको बलियो साथ मिल्ने विश्वासका साथ चुनाव जित्ने दाबी देखिन्छ । गठबन्धनका सबै पार्टीको मत जोड्दा एमालेको हाराहारीमा पुग्नु, केन्द्रीय राजनीतिमा बलियो प्रभाव हुनु, अहिले पनि सरकारमा हुनु जस्ता कारणले बडू चुनाव जित्ने काङ्ग्रेसको दाबी देखिन्छ । 

दार्चुलाबाट प्रतिनिधि सभाका लागि बडू र ठगुन्नासङगै राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देवबहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दियाली, नागरिक उन्मुक्ति पार्टीबाट तारादत्त जोशी, सङ्घीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामी गरी नौ जनाको उम्मेदवारी छ । चुनावी मैदानमा रहेका सबै उम्मेदवार आफूले जित्ने दाबी सहित प्रचारप्रसारमा व्यस्त रहेका छन् । 

विकास र लोकतन्त्रको रक्षाका लागि गठबन्धन जित्नु आवश्यक मन्त्री बडू

मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको चुनाव चुनाव मात्रै नभएर एउटा मान्दोलन भएको बताउँदै आउनुभएको छ । संविधानमै व्यवस्था नभएको कदम चालेर दुई–दुई पटक संसद् भङ्ग गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाहविरुद्ध बाम लोकतान्त्रिक गठबन्धनको जन्म भएकोले लोकतन्त्रको रक्षा र विकासको लागि गठबन्धनले जित्नु आवश्यक रहेको बडूको भनाइ छ । संविधानमाथि खतरा कायमै रहेकोले यो गठबन्धन बनेको उहाँको भनाइ छ । साथै उहाँले आफू मन्त्री भएपछि समग्र देशको विकासका लागि काम गरेको दाबी गर्नुभयो । २०४८ सालपछि काङ्ग्रेसले जिल्लाको विकास गरेको बडूको भनाइ छ । 

आफूले उद्योग मन्त्रालय सम्हाले पछि जिल्लाका विभिन्न स्थानमा खाद्य डिपोहरू सञ्चालनमा आएको, नेपाल भारत जोड्ने मोटरे बल पुलको शिलान्यास भएको, दार्चुलाको च्याङ्ग्रा काठमाण्डौमा बिक्री भएको, उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको र यस्ता धेरै काम गर्न एक पटक गठबन्धनलाई जिताउन मन्त्री बडूले आग्रह गर्नुभयो । आफूले सरकारमा पुग्दा दार्चुलाका लागि केही न केही काम गरेको उहाँको दाबी छ । आफूले खानेपानी, शिक्षा, विद्युत्, सडक, खाद्यान्नलगायत विभिन्न क्षेत्रमा महतपूर्ण काम गरेको बडूले बताउनुभयो ।

सीमा सुरक्षा, विकास र समृद्धिको लागि एमाले जित्नु आवश्यक ठगुन्ना

एमाले पोलिटब्युरो सदस्य ठगुन्नाले सीमा सुरक्षा र जिल्लाको समग्र विकासका लागि एमालेले जित्नु आवश्यक रहेको बताउनुभयो । २०४८ सालदेखि पटक पटक अवसर पाउँदा पनि जिल्लाको लागि सिन्को भाँच्न नसकेका बडूले अहिले पनि अन्तिम पटक भन्दै मत माग्ने गरेका छन्, नेता ठगुन्नाले भन्नुभयो, तर जिल्लाको लागि यतिका वर्षसम्म अवसर पाएर के देखिने काम गर्नुभयो । जनतालाई भ्रममा राखेर जिल्लाको लागि केही गर्न नसक्ने अनि जनतामाझ डायरी लिएर भुलाउने काममा बडू लागेको भन्दै उहाँले यस्तो झुट अब जिल्लाले चिन्नुपर्ने बताउनुभयो । मैले २०७० सालदेखि जिल्लाको लागि भनेका कामहरू पूरा गरेको छु, ठगुन्नाले भन्नुभयो, केही निर्माणकै चरणमा छन् । आफूले सुरु गरेका महत्वपूर्ण अधुरा काम पूरा गर्न अहिले पनि एमालेले जिल्लाबाट जित्नुपर्ने ठगुन्नाको भनाइ छ । संविधानविरोधी एमाले नभई अहिलेको गठबन्धन हो, उहाँले भन्नुभयो, देशलाई सेटिङमा चलाएको छ, अदालतलाई हातमा लिएर सरकारले मनलाग्दी गर्दै आएको छ । 

महाकाली कोरिडोर, दार्चुला तिङ्कर सडकलगायत विभिन्न क्षेत्रका दर्जनौँ सडक, गोकुलेश्वर विमानस्थल, लेकम र मालिकार्जुनको सुख्खा ग्रस्त क्षेत्रमा खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, पर्यटन, खेल, सीमा सुरक्षा, सामाजिक सुरक्षालगायत दार्चुलामा विभिन्न क्षेत्रका सयौँ योजना एमालेले सुरु गरेको ठगुन्नाको भनाइ छ । एमालेकै नेतृत्व र पहलमा दार्चुलाको अतिक्रमित भूमि नक्सामा समेटिएको र भूमि फिर्ताका लागि समेत एमालेले जित्नु आवश्यक रहेको उहाँको भनाइ छ । आफूले सुरु गरेका महतपूर्ण योजनाहरू सम्पन्न गरी दार्चुलालाई समृद्ध बनाउन एमालेले जित्नु आवश्यक रहेको उहाँले बताउनुभयो।

Author

लोकेन्द्र जोशी