• १३ साउन २०८१, आइतबार

डडेल्धुरामा जाँतको रौनक

blog

पुष्कर भण्डारी 

डडेल्धुरा, कात्तिक १५ गते । तिहार सकिएपछि डडेल्धुरामा जाँतको रौनक सुरु भएको छ । तिहारपछि डडेल्धुराका अधिकांश मन्दिरमा कात्तिक र मङ्सिर महिनाभित्रै धार्मिक, सांस्कृतिक विधिपूर्वक पूजाआजासहित जाँत मनाइने प्रचलन छ ।

तिहारको ठीक पाँच दिनपछि जिल्ला सदरमुकाम नजिकै अमरगढी नगरपालिका–७ को शैलेश्वर खोला किनारमा रहेको मसानघाट सल्लागडामा भगवान् शैलेश्वर महादेवको विषेश पूजाआजासहित जाँत मनाइने गरिन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल सप्तमीको राति र अष्टमीको बिहान धार्मिक परम्पराअनुसार शैलेश्वर महादेवको पूजाआजा गरिने गरिन्छ । शैलेश्वर महादेवको पूजाआजापछि डडेल्धुरामा कोलासमैजी, भागेश्वर, उग्रतारा, लाटागन्याप, जगन्नाथ, डागेश्वर, नवदुर्गा र मस्टा भगवतीका मन्दिरमा पूजाआजासहित जाँत मनाइन्छ ।

शैलेश्वर महादेवको मन्दिर रहेको खोलामा ४० बढी गाउँको घाटका रूपमा प्रयोग गर्छन् । त्यसैले यी गाउँका स्थानीयले शैलेश्वर महादेव भगवान्लाई निकै महìवका साथ पूजाआजा गर्ने प्रचलन रहिआएको छ । 

शैलेश्वर महादेव मसानघाट भारतको काशी मन्दिरमा दर्ता भएको एक मात्रै मसान भएको अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खडक बोहराले बताउनुभयो ।  शैलेश्वर महादेव देवताको पूजाआजा पछिको पाँचौँ दिनमा कोला समैजी र ठीक १० दिनपछि उग्रतारा भगवती माताको मन्दिरमा पूजाआजासहित जाँत मनाइन्छ । कात्तिक शुक्ल दशमी राति र कात्तिक शुक्ल एकादशीका दिन कोला समैजी मन्दिरमा पूजाआजा गरिन्छ । यो मन्दिर अजयमेरु गाउँपालिका–१, सैमजीमा  छ ।

उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीका अनुसार कात्तिक शुक्ल पूर्णिमाको राति र मार्ग कृष्ण प्रतिपदाका दिन उग्रतारा भगवतीको मन्दिरमा पूजाआजासहित धुमधामसँग जाँत मनाइने गरिएको छ । उग्रतारा मन्दिर अमरगढी नगरपालिका–८ डकले नजिक रहेको छ । 

उग्रतारा भगवती मन्दिरको पूजाको ठीक एक दिनअघि कात्तिक शुक्ल चतुर्दशीका दिन भागेश्वर गाउँपालिका–५, महाभारत पर्वतमा रहेको भागेश्वर मन्दिरमा पूजाआजा गरिन्छ । शैलेश्वर महादेव देवताकै पूजाआजाका दिन गन्यापधुरा गाउँपालिका–४, कैलपालमाण्डौँमा रहेको कैलपालमाण्डौँमा पनि पूजाआजासहित जाँत मनाइने गरेको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । चौलोले प्रख्यात गन्यापधुरा गाउँपालिकाको लाटागन्याप देवताको पूजाआजासँगै बडालको चौलो कात्तिक शुक्ल नवमीको राति जाग्रम बसेर दोस्रो दिन बिहानदेखि स्थानीय बाजागाजा दाइन, दमाह, भोकर, शङ्ख, घण्टा, बिगुलको धुनमा देवताका धामीको नाच, गाँज नाचसहित चौलो प्रदर्शन गरिन्छ । लाटागन्यापधुराको मन्दिर गन्यापधुरा गाउँपालिका–२, बडलमा रहेको छ । 

अजमेरु गाउँपालिका–६, कानाकोटमा रहेको डागेश्वरी–४ मा रहेको जगन्नाथ मन्दिरमा पनि कात्तिक महिनामा नै पूजाआजासहित जात मनाइने गरेको छ । जगन्नाथ मन्दिरको पूजाआजा मार्ग कृष्ण चतुर्दशी र डागेश्वरीको पूजाआजा मार्ग कृष्ण तृतियाको राति चतुर्दशीका दिन गरिने अजयमेरु गाउँपालिका–६ का वडाध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो । उग्रतारा मन्दिर मेलाको ठीक एक महिनापछि नवदुर्गा गाउँपालिका–३, चेल्पि चौरासमा रहेको नवदुर्गा र वडा नम्बर १ भाडीबुनमा रहेको मस्टा भगवती मन्दिरमा पूजाआजासहित मेला लाग्ने नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मी अवस्थीले जानकारी दिनुभयो । 

देवीदेवताको पूजाआजामा धार्मिक सांस्कृतिक रौनकसँगै देवताका धामीले भाका बैजालीसहित मनोकामना पूर्तिका लागि आशीर्वाद लिइन्छ । कुनै कामको सम्पनताका लागि गरिएका भाकलअनुसार मन्दिरमा चिनोमानो चढाउने प्रचलन डडेल्धुरामा रहिआएको छ ।