आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कतिपय उम्मेदवार आफैँले आफैँलाई मत दिने अवस्थामा हुनुहुन्न । आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकाहरू आफूलाई मतदान गर्नबाट वञ्चित हुनुहुने भएको हो । त्यसमा कतिपय शीर्ष नेता पनि हुनुहुन्छ । यसरी मतदान गर्न नपाउनेमा शीर्ष नेतादेखि अन्य नेतासमेत गरेर ८२ जना जति रहेको निर्वाचन कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उपत्यकामा ल्याउनका लागि आवश्यक तयारी सुरु गरिएको छ । यस वर्षको बाढीपहिरोले बगाएका सडक तथा पुलहरू अस्थायी रूपमा निर्माण गरिएको छ । त्यसैगरी बाढीपहिरोले थुपारेका ढुङ्गा र माटो पन्छाउन सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘मेलम्चीको हेडवक्र्ससम्म पुग्ने अस्थायी बाटो निर्माण भइसकेको छ । आयोजनाका प्रमुख तथा प्राविधिकले मुहानस्थलमा पुगी क्षतिबारे अध्ययन गरिरहनुभएको छ ।’’ त्यसैगरी आयोजनाको सुरुङको सफाइ तथा मर्मत कार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले साढे पाँच महिनाको अवधिमा १० अर्ब ३८ करोड ९६ लाख रुपियाँको विद्युत् भारत निर्यात गरेको छ। गत जेठ १९ गतेदेखि विद्युत् निर्यात गर्न थालेको प्राधिकरणले कात्तिकसम्ममा एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् निर्यात गरी उक्त रकम आर्जन गरेको हो। भारतीय मुद्रामा कारोबार हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ४९ करोड ३५ लाख भारतीय रुपियाँ नेपाल भित्रिएको प्राधिकरणले जनाएको छ।
आमनिर्वाचनको दिन देशव्यापी रूपमा मौसम सफा रहने भएको छ। केही दिनयता सुदूरपश्चिमलगायतका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली र हिमपात भइरहे पनि मङ्सिर ४ गते देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुको प्रभाव कायमै रहेका बेला आमनिर्वाचनका दिन केही भूभागबाहेक अधिकांश स्थानको मौसम सफा रहने विभागले जनाएको छ।
आलु रोप्दा आवश्यक पर्ने डीएपी मल नभएपछि काभ्रेपलाञ्चोक जिल्लाका किसान आलु रोप्ने वा नरोप्ने भन्ने दोधारमा परेका छन्। विगत तीन वर्षदेखि निरन्तर रूपमा रासायनिक मलको अभाव खेप्दै आएका काभ्रेली किसान सहज रूपमा मल किन्न नपाउँदा आलु खेती छाडेर के बाली लगाउने भन्ने चिन्तामा छन्। काभ्रे जिल्लाको मण्डनदेउपुर, पाँचखाल, पनौती नगरपालिकालगायतका स्थानमा आलु रोप्ने समय भएको छ तर यति बेला जिल्लामा डीएपी र युरिया मलको आवश्यकताको अनुपातमा न्यून परिमाणमा मात्र रासायनिक मल भित्रिएको छ।
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने बढेका छन्। शुक्रबार मात्र करिब डेढ लाख मानिस बाहिरिएको अनुमान छ। बालाजु बसपार्क, कोटेश्वर, कलङ्की, गौशालालगायतका क्षेत्रबाट जिल्ला फर्कने यात्रुको शुक्रबार बिहानैदेखि भीड लागेको थियो। अघिल्लो दिनको तुलनामा शुक्रबार बढी नै रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। शुक्रबार मात्रै करिब डेढ लाख यात्रु बाहिरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाको दाबी छ। उहाँका अनुसार निर्वाचनका अवसरमा करिब ४० प्रतिशत यात्रु बढेका छन्।
यही मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन कपिलवस्तुका सबै मतदान केन्द्रलाई गुगल म्यापबाट निरीक्षण गरिने भएको छ । जिल्लाको २३५ वटै मतदान केन्द्रलाई गुगल म्यापमा राखिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनलक्षित विशेष सुरक्षा योजना बनाउँदै २३५ वटा मतदान स्थल र ४७३ वटै केन्द्रलाई गुगल म्यापमा राखेको हो । नेपाली सेनाका प्राविधिकको सहयोगमा जिल्लामै पहिलो पटक कायम गरिएका मतदान स्थललाई गुगल म्यापमा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।
नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
मतदान गर्ने मिति नजिकिँदै गर्दा पाँचथरमा मतगणनास्थलको व्यवस्थापन गर्नेकाम सकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा सीसी क्यामेरा जडानसँगै तारजाली लगाउने र गणनास्थल रहेको फिदिमस्थित जिल्ला समन्वय समिति अगाडिको कर्भड हल रहेको क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाउने काम सम्पन्न गरेको हो।
विभिन्न हातहतियारसहित तीन जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । बर्दियाको बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियारसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
गठबन्धन दलले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै त्रिपाल वितरण गरेको छ । मौन अवधि सुरु हुनु केही समय अघि गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्रवहादुर शाहीको तर्फबाट पलाँता गाउँपालिकामा सो त्रिपाल वितरण गरिएको हो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत विभिन्न जिल्लामा भइरहेका गतिविधि नियन्त्रण गर्न तथा त्यसता कार्यमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ ।
प्रशासनको आदेश उल्लङ्घन गर्दै बिक्री वितरण गर्न लागिएका करिब २ सय लिटर अवैध मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
निर्वाचन आयोगले प्युठानबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ र ३ मा मतदानका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।