• ७ पुस २०८१, आइतबार

मतदातालाई प्रभावमा पार्न त्रिपाल वितरण

blog

मतदातालाई प्रभावमा पार्न त्रिपाल बितरण गरिदै । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, मङ्सिर २ गते । गठबन्धन दलले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै त्रिपाल वितरण गरेको छ । मौन अवधि सुरु हुनु केही समय अघि गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्रवहादुर शाहीको तर्फबाट पलाँता गाउँपालिकामा सो त्रिपाल वितरण गरिएको हो ।

गत असोजको वर्षाले क्षति पुगाएको एक महिना १० दिन पछि घर भत्केकाहरूलाई राहत भन्दै त्रिपाल वितरण गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । कालीकोट रास्कोटका लिलाराज सन्ज्यालले उम्मेदवार शाहीको नासो भन्दै माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा विजयी बिष्णुवहादुर रोकाया (इन्द्र) र वडा नं ९ का माओवादीका वडा कमिटी सदस्य मानबहादुर सुनारले त्रिपाल वितरण गरेको बताउनुभयो ।

यस विषयमा बुझ्न खोज्दा गाउँपालिकाका अध्यक्ष बिष्णुवहादुर रोकायाले स्वीकार गर्नुभएन । वडा अध्यक्ष कसैले बाडीपीडितका लागि आइपुगेका त्रिपाल वितरण गरेको हुनसक्ने उहाँले बताउनुभयो ।

कालीकोटमा प्रतिनिधि सभा सदस्यका लागि माओवादीका शाही र प्रदेश सभा (१) मा दुर्गबहादुर रावत र (२) मा नेपाली कांग्रेसका हिक्मत विष्ट उम्मेदवार रहनु भएको छ । मौन अवधि सुरु हुँदैगर्दा पीडितलाई त्रिपाल वितरण गरिनु आचारसंहिता उल्लङ्घन भएको स्थानीयको बुझाई छ ।

यस विषयमा कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले आफूलाई सो बारेमा जानकारी नभएको बताउनुभयो । निर्वाचनका बेला कुनै पनि मतदातालाई प्रभावमा पार्न यस्ता नगद जिन्सी समान दिनुलाई आचारसंहिता विपरीत मानिन्छ ।