जुम्ला समाचारदाता
जुम्ला, चैत १० गते । जुम्लामा सार्वजनिक यातायातका साधनको मनपरी भाडा लिने प्रवृत्तिलाई अन्त्य गर्न दुरीका आधारमा नयाँ भाडादर कायम गरिएको छ । स्थानीयको मागका आधारमा जिल्ला यातायात दररेट समितिले जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा नयाँ दररेट कायम गरेको हो ।
स्थानीयले भाडादर कायम गरिनुपर्ने तथा सरकारको नियमानुसार सहुलियत हुनुपर्ने माग अनुसार जिल्ला दररेट समितिले सार्वजनिक गाडी सञ्चालन हुने जिल्लामा विभिन्न स्थानको दररेट कायम गर्नुका साथै क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने र अनिवार्य टिकट काट्नुपर्ने नियम पनि बनाएको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा सरोकारवाला, स्थानीय तहका प्रतिनिधि र यातायात व्यवसायीबिच बसेको बैठकले बस, जिप, भ्यान र अटोको नयाँ भाडादर निर्धारण गरिएको छ । इन्धनको मूल्य, सडकको अवस्था र सवारी सञ्चालन लागतलाई आधार मानेर जिल्लाभित्रका विभिन्न रुटको भाडा तय गरिएको प्रशासनले जनाएको छ । नयाँ नियम अनुसार अब यातायात व्यवसायीले यात्रु बोक्ने सबै सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था गर्नुपर्ने छ ।
जिल्ला प्रशासन कार्यालयको रोहबरमा निर्धारण गरिएको नयाँ भाडादरमा जुम्ला बजारदेखि उमगाडसम्म ५० रुपियाँ, जुम्ला बजार तातोपानीसम्म १४० रुपियाँ, जुम्ला बजारदेखि राँकासम्म १८५ रुपियाँ, जुम्ला बजारदेखि कुँडारीसम्म २३० रुपियाँ, जुम्ला बजारदेखि रारालिहीसम्म २७५ रुपियाँ र जुम्ला बजारदेखि नाग्मसम्म ३८५ रुपियाँ भाडादर कायम गरिएको छ ।
यसै गरी गाडीमा सिट सुरक्षित नहुँदा समस्या भोगिरहेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई आरक्षण सिट तथा छुटको व्यवस्था पनि मिलाइएको छ । कानुनले तोकेबमोजिम ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलाका लागि आरक्षण सिट र भाडा छुटको व्यवस्थालाई कडाइका साथ लागु गरिने प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले सिट क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएमा कारबाही गरिने बताएको छ ।
यसअघि हिमा, सिँजा, तिला र कनकासुन्दरी क्षेत्रका बासिन्दाले यातायात व्यवसायीले मनोमानी भाडा लिएको भन्दै वैज्ञानिक भाडादर कायम गर्न प्रशासनमा निवेदन दिएका थिए । निवेदक सिँजाको हिमा गाउँपालिका–१ का स्थानीय हर्षबहादुर शाहीले भाडा खासै सहुलियत हुन नसके पनि निर्धारण हुनु सकारात्मक भएको बताउनुभयो । भाडादर निर्धारणमा इन्धनको मूल्य फेरबदल भएमा सोही अनुसार भाडा पुनः हेरफेर गरिने निर्णय भएको छ ।