मुसीकोट समाचारदाता
रुकुमपश्चिम, चैत १० गते । पढाइ तथा सिकाइलाई उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ रुकुमपश्चिमकी ५८ वर्षीय जानकीदेवी उपाध्यायले । आठबिसकोट नगरपालिका–९, राडी निवासी उपाध्याय आइतबारबाट सुरु भएको कक्षा ८ को वार्षिक परीक्षामा सहभागी हुनुहुन्छ । हाल उहाँ सोही वडाको वडा सदस्यसमेत हुनुहुन्छ ।
नगरपालिकास्तरीय यस परीक्षामा उहाँ ठुलीभेरी सामुदायिक अध्ययन केन्द्रद्वारा सञ्चालित अनौपचारिक शिक्षा तह ३ अन्तर्गत सहिद स्मृति नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्र (ख) बाट परीक्षा दिइरहनुभएको छ । आइतबार अङ्ग्रेजी र सोमबार नेपाली विषयको परीक्षा दिएकी उहाँले सुरु दिनबाटै परीक्षा राम्रो गरेको बताउनुभयो । उपाध्यायले ज्ञान लिने, सिक्ने कुरा उमेरले नभई चाहनामा भर पर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले यो उमेरमा पढ्न रहर गरेँ, हामीभन्दा पछाडिका नानीबाबुले पनि पढाइलाई महत्व दिनु पर्छ । लापर्बाही गर्नु हुँदैन । शिक्षाभन्दा ठुलो अरू के हुन्छ र !”
उहाँ वडा नं. ९ को वडा सदस्य हुनुहुन्छ । जनप्रतिनिधिका रूपमा गाउँमा काम गर्दा उहाँले पढाइको महत्व झन् बुझ्न पाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीले सानो हुँदा पढ्न पाएनौँ, अहिले शिक्षाको महत्व बुझेदेखि पढ्न थालेकी छु ।” आफूले सिकेपछि, अध्ययन गर्न सक्ने भएपछि महिला अधिकारबारे जान्न र बोल्न सकिने उहाँको भनाइ छ । सहिद स्मृति माविका केन्द्राध्यक्ष नवीनकुमार शाहीले ५८ वर्षको उमेरमा पनि जनप्रतिनिधिले आधारभूत तहको परीक्षा दिने कुरा आफैँमा प्रशंसनीय भएको बताउनुभयो ।
उहाँले यो उदाहरणीय प्रयासले समाजको शिक्षाको महत्वबारे सकारात्मक सन्देश पैदा गरेको बताउनुभयो । उपाध्यायले शिक्षाप्रति देखाएको लगावले सबै उमेर समूहलाई प्रेरणा दिएको शाहीले बताउनुभयो । आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष जनक बटालाले वडा सदस्य उपाध्याय अत्यन्त सरल र सेवाभावले प्रेरित जनप्रतिनिधि रहेको बताउनुभयो । उहाँले कार्यालयका बैठक तथा बस्तीस्तरका छलफलमा समेत नयाँ कुरा सिक्ने सिकाउने कार्यलाई निरन्तरता दिँदै आउनुभएको वडाध्यक्ष बटालाले बताउनुभयो ।