नारद कोहार
तौलिहवा, मङ्सिर ३ गते । यही मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन कपिलवस्तुका सबै मतदान केन्द्रलाई गुगल म्यापबाट निरीक्षण गरिने भएको छ । जिल्लाको २३५ वटै मतदान केन्द्रलाई गुगल म्यापमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिले निर्वाचनलक्षित विशेष सुरक्षा योजना बनाउँदै २३५ वटा मतदान स्थल र ४७३ वटै केन्द्रलाई गुगल म्यापमा राखेको हो । नेपाली सेनाका प्राविधिकको सहयोगमा जिल्लामै पहिलो पटक कायम गरिएका मतदान स्थललाई गुगल म्यापमा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।
उहाँले ढुक्कसँग मतदान अधिकृत र कर्मचारीलाई कार्यस्थलमा खट्न निर्देशन दिइएको बताउनुभयो । शान्ति सुरक्षाको स्थिति बलियो बनाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हरेक मतदान केन्द्रमा सूचना पाएको १० मिनेटमै सुरक्षाकर्मीको टोली पुग्ने गरी प्रबन्ध गरिएको छ ।” गुगल म्यापका आधारमा सुरक्षाकर्मीलाई खट्न सजिलो हुने उहाँले बताउनुभयो ।
म्यादी, प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित भइसकेका छन् । जिल्लामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा स्थितिलाई हेरेर २८ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील र बाँकीलाई सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ मिश्रले बताउनुभयो ।