शहीद मार्गअन्तर्गत रुकुमपूर्वको काँक्री–मैकोट सडकखण्डको उत्तरगङ्गा खोलामा निर्माण गर्ने भनिएको पुलको काममा अवरोध भएको छ। निर्धारित ठाउँभन्दा पाँच सय मिटरमाथि रहेको सेरागाउँ छोएर सडक जानुपर्ने र पुल पनि गाउँनजिकै बन्नुपर्ने माग राख्दै स्थानीयले पुल निर्माणको काममा अवरोध गरेका हुन्। घोराहीबाट रोल्पा हुँदै रुकुमपूर्व जोड्ने २२० किलोमिटर लामो शहीद मार्गअन्तर्गत पुथाउत्तरगङ्गा गाउँपालिका–११ को उत्तरगङ्गा खोलामा पुल बनाउन लागिएको हो।
घोराही उपमहानगरपालिका–१६, कपासीमा खानेपानी आयोजना सुरु भएको करिब पाँच वर्ष बित्यो। गाउँगाउँमा खानेपानीको सुविधा पु-याउनका लागि पाँच वर्षअघि डिप बोरिङ गरी ट्याङ्की समेत निर्माण भएको छ तर पाइप विस्तार हुन सकेको छैन। सुरुमा केही समय जग्गा विवादका कारण रोकिएको उक्त आयोजना पछिल्लो समय बजेट अभावका कारण अघि बढ्न नसकेको स्थानीय माया खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “पानीका लागि घरअगाडि खानेपानी ट्याङ्की निर्माण हुँदा खुसी लागेको थियो तर वर्षौं भइसक्दा पनि आयोजना पूरा हुन सकेको छैन।” उहाँले भन्नुभयो, पानी नहुँदा इनारबाट पानी तानेर खानुपर्ने बाध्यता छ। त्यो पनि गर्मी दिनमा सुकेपछि समस्या हुन्छ।
साहित्य, भाषा, कला, संस्कृति, शिक्षा, समाजसेवालगायत विभिन्न कर्ममार्फत समाज परिवर्तनका लागि योगदान दिइरहनुभएका व्यक्तित्वहरूको अनुभव र अभियानलाई पुस्तकका रूपमा प्रकाशित गरिएको छ। लेखक पद्म श्रेष्ठले सङ्गीत, चित्रकला, सरसफाइ, कृषि, शिक्षा, धर्म, योग, घोस्ट राइटिङ र सामाजिक संस्थामार्फत महिला श्रमिकका लागि काम गरिरहेका व्यक्तित्वहरूले नेपाली समाजका लागि आफ्नो तर्फबाट सहयोग र प्रेरित गरेर पु-याएको योगदानलाई ‘योगदानी व्यक्तित्व’ समाजका कुशल अभियन्ता शीर्षकको पुस्तकमा समेटेर प्रकाशित गर्नुभएको हो।
नेपालभाषा स्टार म्युजिकमा लाइफटाइम अचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ। संसार क्रियसन्सद्वारा आयोजित नोमिनेसनको प्रमाणपत्र र मेडल वितरण गर्दै श्रेष्ठलाई सो सम्मान प्रदान गरिने जनाइएको छ। संसार क्रियसन्सका निर्देशक स्वतन्त्र महर्जनले विश्व रेकर्ड कायम गर्ने प्रयास अवार्डको पहिलो संस्करणमा सफल हुन नसके पनि अब दोस्रो संस्करणमा सफल बनाउने घोषणा गर्नुभयो। कार्यक्रममा ३२ वटा विधामा अवार्ड वितरण गरिने जनाइएको छ। प्रत्येक विधामा १०/१० जनालाई समावेश गरिएको छ भने देशभक्ति र भजन सङ्गीतको विधामा १५ जनालाई समावेश गरिनेछ।
कालीगण्डकी गाउँपालिका–४, बिर्घा काठेखोलामा १० दिनमै काठेपुल निर्माण गरिएको छ। कालीगण्डकी गाउँपालिकाको दुई लाख ७७ हजार ८१२ रुपियाँ र पर्यटन मन्त्रालयको दुई लाख ४५ हजार रुपियाँ गरी कुल पाँच लाख २२ हजार ८१२ रुपियाँमा सो पुल निर्माण भएको हो। करिब पाँच मिटर लामो यो पुल झट्ट हेर्दा सामान्य लागे पनि चिफलडाँडाका स्थानीय बासिन्दा र विद्यार्थीलाई ओहोरदोहोर गर्न ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रुलाई आवतजावत सुविधा दिन सार्वजनिक बस सेवा सञ्चालन गरिएको छ। विमानस्थलभित्र तीन–तीन मिनेटको फरकमा दुईवटा बस सञ्चालन गरिएको हो। विमानस्थलबाट अमरसिंह चोक–वीरेन्द्र चोक–राम बजार–मितेरी पुल–आरटीओ रोड–बिरौटा चोक–राष्ट्रबैङ्क चोक हुँदै फिस्टेल गेटसम्म चारवटा बस १०–१० मिनेटको फरकमा र एउटा बस विमानस्थलबाट वेगनासतालसम्म ‘नन स्टप’ सञ्चालन गरिएको हो।
पर्यटकीय नगरी पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको सपना आइतबार पूरा भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएसँगै लामो सपनाको एउटा अध्याय समाप्त भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलको सपना सजिलै पूरा भएको होइन। विभिन्न आरोह–अवरोह पार गर्दै पोखरा विमानस्थल निर्माण सम्पन्न भएको हो। पर्यटकीय नगरी पोखरा अब राजधानी काठमाडौँमा मात्र निर्भर नरही आफैँ संसारसित जोडिन सक्छ। पोखरालगायत समग्र गण्डकीकै पर्यटकीय विस्तार नयाँ ढङ्गले अगाडि बढ्न सक्नेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुविधा भएको मुलुकको तेस्रो नगर बन्न सफल भएको छ।
हामीले लोकतन्त्रिक बहुलवादमा गौरवमय विजय प्राप्त ग-यौँ। २०७९, मङ्सिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको आमनिर्वाचन भयो। यस निर्वाचनमा संसद्को ठूलो दल बनेको नेपाली कांग्रेसले सरकार बनाउने अवसरलाई सदुपयोग गर्न सकेन। निर्वाचनको जनादेशमा एमाले दोस्रो र माओवादी तेस्रो रोजाइमा परे। यता, निर्वाचनकै दौरानमा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता स्वतन्त्र राजनीतिक पदचापको उदय भयो। सायदै यो संयोग नेपाली राजनीतिक इतिहासमा विरलै देखेको दृश्य हो। यो ऊर्जा सञ्चय हुनमा समकालीन पुस्ताको सामाजिक–राजनीतिक रूपान्तरणप्रतिको तीव्र चाहनाले निर्णायक भूमिका खेल्यो।
कोभिड–१९ सन् १९१८ को इन्फ्लुएन्जा महामारीपछिको विश्वव्यापी रूपमा सबैभन्दा गम्भीर महामारीका रूपमा रह्यो। एक शताब्दीमा एक पटक देखापर्दै आएको विश्वव्यापी महामारीलाई प्रभावकारी नियन्त्रण गर्न चुनौती थपियो। अन्तर्राष्ट्रिय समुदायले संयुक्त प्रयास गरी समाधान खोज्ने अवस्था उत्पन्न भयो। कोभिड–१९ मानव जीवन र स्वास्थ्यमा ठूलो क्षति मात्र गरेन सबै देशको आर्थिक विकास र सामाजिक स्थिरतामा पनि प्रभाव पा¥यो। यसले विश्वव्यापी विकास ढाँचा र सुरक्षामा पनि ठूलो र दूरगामी प्रभाव पारेको छ।
निकै चर्को राजनीतिक सरगर्मीबीच प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग्रेजी नयाँ वर्षको शुभसाइत पारेर निकै उल्लासपूर्ण माहोलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्नुभएको छ। तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा उत्साहित हुँदै उहाँले ठूला परियोजनामा लगानी गर्न चीनसँग आग्रहसमेत गर्नुभयो।
श्रमिकको अर्थ सधैँ गरिबीसँग पनि हुँदैन, श्रमिक एक मध्यमवर्गीय व्यक्ति वा धनी व्यक्ति पनि हुन सक्छन्। श्रमिक पुरुष मात्र होइन, महिला पनि हुन्छन्। श्रमिक वयस्क मात्र होइन, बच्चा र वृद्ध पनि हुने गर्छन्। बालश्रम यद्यपि निषेध कार्य हो तथापि बालश्रमबाट संसारमुक्त हुन सकेको छैन।
गलकोट नगरपालिका–३ स्थित गोलकोट दरबार ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व र विश्वास बोकेको क्षेत्र हो। मल्लकालीन राजा जितारी बम मल्लले हटिया बजारदेखि पाँच किलोमिटर दक्षिण समुद्री सतहदेखि करिब एक हजार पाँच सय मिटरमाथि अग्लो ठाउँमा आवासीय तथा प्रशासनिक दरबार बनाउनुभएको थियो।
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो ।
लहान नगरपालिकाको मुख्य सडक चोकको तरकारी हटिया हटाइने भएको छ। सडकपेटीमा लाग्ने तरकारी बजार हटाउन जनगुनासो बढ्दै गएपछि नगरपालिकाले यस्तो पहल थालेको हो। नगरको सडकपेटीमा बिहान बेलुका किसानले तरकारी बेच्न राख्ने गरेका छन्। यसबाट आवतजावतमा असहज भएको स्थानीयको गुनासो छ। नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार नगरपालिकाको करोडौँको लगानीमा निर्माण भएको कृषि भवनको पूर्वपट्टि किसानलाई तरकारी बिक्री गर्न व्यवस्था मिलाएको छ। यद्यपि अहिले पनि सडक पेटीमा तरकारी बिक्री गर्ने क्रम जारी छ।
झापा दमकको मुख्य बजार क्षेत्रका सडकको सौन्दर्यीकरणको काम धमाधम भइरहेको छ। सडकको सौन्दर्यीकरण अभियानअन्तर्गत सडकको किनारमा रहेका अव्यवस्थित तार हटाउने, पुराना बिजुलीको खम्बाहरू हटाएर नयाँ राख्ने र रङ लगाएर आकर्षक बनाउने लगायतका कामहरू सुरु भएको छ। दमकको गणतन्त्र चोकबाट थाना रोड हुँदै मुख्य बजार र नमुना बजारसम्म पुग्ने करिब एक किलोमिटर सडकमा दुईतर्फ बिजुलीका खम्बा गाडेर रङ लगाउने काम भइसकेको छ। सडकलाई आकर्षक बनाउने काम पूरा हुन लागेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ। यस सडकमा रातको समयमा बल्ने आकर्षक बत्ती पनि जडान भइसकेको छ।