• १३ साउन २०८१, आइतबार

पर्यटकीय नगरीमा अन्तर्राष्ट्रिय विमानस्थल

blog

पर्यटकीय नगरी पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको सपना आइतबार पूरा भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएसँगै लामो सपनाको एउटा अध्याय समाप्त भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलको सपना सजिलै पूरा भएको होइन। विभिन्न आरोह–अवरोह पार गर्दै पोखरा विमानस्थल निर्माण सम्पन्न भएको हो। पर्यटकीय नगरी पोखरा अब राजधानी काठमाडौँमा मात्र निर्भर नरही आफैँ संसारसित जोडिन सक्छ। पोखरालगायत समग्र गण्डकीकै पर्यटकीय विस्तार नयाँ ढङ्गले अगाडि बढ्न सक्नेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुविधा भएको मुलुकको तेस्रो नगर बन्न सफल भएको छ। 

पोखरा र समग्र गण्डकी नै प्रकृतिको अनुपम उपहार हो। अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणसँगै पोखराको पर्यटकीय सम्भावना अझै वृद्धि हुने अपेक्षा गर्न सकिन्छ। अन्तर्राष्ट्रिय पर्यटक सिधै पोखरामा अवतरण गरेर बिनाझन्झट यहाँको पर्यटकीय गन्तव्यको रस्वादन गर्न सक्नेछन्। यसका अतिरिक्त अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखराको सामाजिक, आर्थिकलगायत क्षेत्रमा पनि सकारात्मक प्रभावको अपेक्षा गर्न सकिन्छ। काठमाडाैँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखराको योसमेत तीनवटा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरका विमानस्थलको सञ्चालनबाट नेपालको नागरिक उड्डयनको दिशामा निकै महत्त्वपूर्ण हुने तथ्यमा दुईमत छैन। नेपाल क्रमिक रूपमा आर्थिक गतिविधिमा फड्को मार्दै गरेको तथ्यमा विवाद छैन। गत जेठमा लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै केही महिनाकै अन्तरालमा अर्को क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु निश्चित रूपमा सबै नेपालीका निम्ति हर्षको विषय हो। यसबाट नेपालले आर्थिक विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई दिएको महत्त्व स्पष्ट हुन्छ। केही समयअघिसम्म मौसम आदिका कारण अन्तर्राष्ट्रिय विमान काठमाडौँमा अवतरण गर्न नसक्दा भारततर्फ जानुपर्ने बाध्यता थिए तर यी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै यस्ता व्यावहारिक समस्या हट्ने छन्। यसले नेपालको हवाई उड्डयनको भौतिक संरचनाको अवस्थालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त हुन सकिन्छ। 

निश्चित रूपमा एकै वर्षमा दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा सञ्चालन नेपालजस्तो विकासोन्मुख राष्ट्रका निम्ति गौरवको विषय हो। यससँगै यी विमानस्थलको व्यावसायिक उपयोग पनि त्यत्तिकै महत्त्वपूर्ण पक्ष हो। सञ्चालनको सात महिना पुगिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्। मध्यपूर्वको एक विमान कम्पनीले पनि आफ्नो नियमित उडान स्थगित गरेको अवस्था छ भने अन्य विमान कम्पनीले उडान प्रारम्भ गर्ने कुनै निश्चितता पाइँदैन। यस स्थितिमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नु आर्थिकलगायत विविध विषयबाट निकै कठिन विषय हो। 

विमानस्थलले आफ्नो सञ्चालन खर्च पनि उठाउन नसक्ने अवस्थामा रहे यो मुलुककै निमित्त निश्चित रूपमा फाइदाजनक होइन। अहिले गौतमबुद्ध विमानस्थल यही स्थितिबाट गुज्रिरहेको छ। गौतमबुद्ध विमानस्थलको जस्तै नियति पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पनि भोग्नु नपरोस् भन्ने सन्दर्भमा सम्बन्धित सबैको चिन्ता तथा चासो हुनु अति आवश्यक छ। पोखरा विमानस्थल निर्माणका निम्ति खर्च भएको २२ अर्बमध्ये ७५ प्रतिशत ऋण तथा २५ प्रतिशत ब्याजबिना तिर्नुपर्ने व्यवस्था छ। विमानस्थल सञ्चालन भएदेखि नै चीनलाई ऋणको साँवा ब्याज भुक्तान गर्नुपर्ने कारणले पनि पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालन हुनुपर्ने बाध्यता छ। अन्यथा अन्य तरिकाबाट ऋण तथा ब्याज भुक्तान गरिनुपर्ने अवस्था आउन सक्छ। 

पोखरा विमानस्थललाई पूर्ण व्यावसायिक दृष्टिकोणबाट सञ्चालन गर्न सम्बन्धित क्षेत्रले विज्ञहरूको छलफलका आधारबाट पर्यटक तथा विमान कम्पनी आकर्षण, छुटलगायतका विविध खाले योजना सार्वजनिक गर्नु महत्त्वपूर्ण हुनेछ। भौतिक पूर्वाधारको निर्माणसँगै त्यसको अधिकतम उपयोग हुन नसकेमा विभिन्न किसिमका समस्या निम्तिन सक्छन्। यस्ता समस्याको सामना गर्न नपरोस् भन्नाका खातिर निर्माणपूर्व नै निर्माणका आवश्यकता, उपयोगका योजना, व्यावसायिक रणनीतिजस्ता विविध पक्षमा उपयुक्त तवरले गृहकार्यपश्चात् नै यस्ता बृहत योजनालाई अगाडि बढाइनु पर्छ। निश्चित रूपमा सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपूर्व नै यी आधारभूत पक्षमा आवश्यक गृहकार्य गरेकै हुनुपर्छ। अपेक्षा गरौँ, यिनै पक्षको कार्यान्वयन गरेर पोखरा विमानस्थल अन्तर्राष्ट्रिय पर्यटकको मुख्य गन्तव्यका रूपमा स्थापित हुनेछ।