• १७ चैत २०८२, मङ्गलबार

पुल निर्माणमा स्थानीयको अवरोध

blog

जयमान बुढामगर

रुकुमपूर्व, पुस १९ गते । शहीद मार्गअन्तर्गत रुकुमपूर्वको काँक्री–मैकोट सडकखण्डको उत्तरगङ्गा खोलामा निर्माण गर्ने भनिएको पुलको काममा अवरोध भएको छ। निर्धारित ठाउँभन्दा पाँच सय मिटरमाथि रहेको सेरागाउँ छोएर सडक जानुपर्ने र पुल पनि गाउँनजिकै बन्नुपर्ने माग राख्दै स्थानीयले पुल निर्माणको काममा अवरोध गरेका हुन्। 

घोराहीबाट रोल्पा हुँदै रुकुमपूर्व जोड्ने २२० किलोमिटर लामो शहीद मार्गअन्तर्गत पुथाउत्तरगङ्गा गाउँपालिका–११ को उत्तरगङ्गा खोलामा पुल बनाउन लागिएको हो।

सो गाउँदेखि तल पुल बन्दा सेरागाउँ छुट्ने भन्दै स्थानीयले विरोध गरेका हुन्। “हाम्रो गाउँ हुँदै सडक र पुल बन्नुपर्ने माग हो,” एक स्थानीयको भनाइ छ, “यसैका लागि एक महिनादेखि विरोधमा उत्रिएका छौँ। माग पूरा नभएसम्म विरोध रहन्छ।” 

शहीद मार्ग सडक योजना प्रमुख पवन भट्टराईका अनुसार गत फागुनमा पुलको डिजाइन र निर्माणका लागि ठेक्का लागेको थियो। ठेक्का लागेको छ महिनाभित्र डिजाइनको काम सक्ने र सातौँ महिनादेखि निर्माणको काम सुरु गर्नुपर्ने सम्झौता गरिएको थियो। 

तर, ठेक्का लागेको १० महिनामा पनि सर्भेको काम सके पनि माटो परीक्षण गरेर डिजाइन पास गराउन बाँकी रहेको प्रमुख भट्टराईले बताउनुभयो। जम्मा ३० महिनाको ठेक्का हो, १० महिना भइसक्यो” उहाँले भन्नुभयो, “यतिबेला निर्माणको काम धमाधम हुनुपर्नेमा स्थानीयको अवरोधका कारण अघि बढ्न सकेन।”

गत मङ्सिर २१ मा बृहत् छलफलका माध्यमबाट समस्या समाधान गर्ने सहमति गरेकामा पुनः समस्या बल्झिएकोमा दुःख लागेको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो। स्थानीयको विरोधका कारण विकास निर्माणको काम रोकिनु दुर्भाग्य हो, उहाँले भन्नुभयो। 

आर्थिक वर्ष २०७०/७१ मा डीपीआर सम्पन्न भएर २०७३/७४ मा निर्माणका लागि ठेक्का लागेको शहीद मार्गको यो ठाउँमा पुल नबन्दा स्थानीय र सवारी आवतजावतमा निकै कठिनाइ भएको गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो।