• १२ असोज २०८१, शनिबार

सजाइँदै सडक

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस १९ गते । झापा दमकको मुख्य बजार क्षेत्रका सडकको सौन्दर्यीकरणको काम धमाधम भइरहेको छ। सडकको सौन्दर्यीकरण अभियानअन्तर्गत सडकको किनारमा रहेका अव्यवस्थित तार हटाउने, पुराना बिजुलीको खम्बाहरू हटाएर नयाँ राख्ने र रङ लगाएर आकर्षक बनाउने लगायतका कामहरू सुरु भएको छ। 

दमकको गणतन्त्र चोकबाट थाना रोड हुँदै मुख्य बजार र नमुना बजारसम्म पुग्ने करिब एक किलोमिटर सडकमा दुईतर्फ बिजुलीका खम्बा गाडेर रङ लगाउने काम भइसकेको छ। सडकलाई आकर्षक बनाउने काम पूरा हुन लागेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ। यस सडकमा रातको समयमा बल्ने आकर्षक बत्ती पनि जडान भइसकेको छ। 

सडकको सौन्दर्यीकरण अभियानअन्तर्गत फुटपाथ हटाउने काम पनि भइरहेको छ। सडकको दुबै किनारमा रेलिङबार लगाउने, दुवैतर्फ गमला बोटबिरुवा तथा फलफूल बिरुवा लगाउने काम सकिएको थियो। नगरप्रमुख थापाले भन्नुभयो, “हामी दमक बजार तथा दमकको मुख्य क्षेत्रमा प्रवेश गर्दा परिवर्तन अनुभूत हुनेगरी काम गरिरहेका छाैँ।” 

टेलिकम, इन्टरनेट तथा केबल सञ्चालन गर्नेहरूले बिजुलीका पोलहरूमा तार टाँगेकाले विद्युतीय जोखिम बढेको र बजार क्षेत्र कुरूप भएकाले यसलाई व्यवस्थापन गर्दै सडक सौन्दर्यीकरणको गरिने पनि थापाले जनाउनुभएको छ। दमकको मुख्य बजार क्षेत्रमा फोहोर तथा ढल निकासका लागि ठूलो परियोजनाको काम भइरहेको छ। भत्किएका सडकहरू कालोपत्रेसमेत भइरहेका छन्। 

दमकमा सडकलाई नै पर्यटकीय स्थल बनाउन पाँच वर्षअघि नै बजारमा नमुना सडकसमेत बनाइएको छ। जहाँ फूलबारी, पानीको फोहोरा, विभिन्न बोटबिरुवा, बस्ने कुर्सीहरू राखिएको छ। मुख्य चोकबाट सोही नमुना मार्ग जाने सडकको सौन्दर्यीकरण अहिले भइरहेको हो।