• २० असोज २०८१, आइतबार

म्याग्दीको तातोपानी प्राकृतिक चिकित्सालय अलपत्र

blog

सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनको लागि निर्माण गरिएको भवन र उपकरणहरू । तस्बिर: साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), पुस १९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो । 

‘‘प्राविधिक र पूर्वाधार निर्माण गरी गत वर्ष असोज महिनादेखि बिरामी भर्ना गरेर सेवा सुरु गर्ने तयारी भए पनि आन्तरिक व्यवस्थापन र जनशक्ति  व्यवस्थापन गर्न बजेट अभाव भएपछि चिकित्सालय सञ्चालनमा ल्याउन नसकिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । 

पर्यटन मन्त्रालयको पचास लाख र एक करोड तातोपानी कुण्ड व्यवस्थापन समिति गरी एक करोड पचास लाख रुपियाँ लगानीमा पाँच तले भवन निर्माण गरिएको छ । उहाँका अनुसार, भवन निर्माण गर्दा लागेको ६९ लाख रुपियाँ ऋण तिर्न बाँकी छ । विभिन्न चरणमा स्थानीय उपभोक्ता समिति मार्फत भवन निर्माण गरिएको हो । कोरोना महामारीको कारण तातोपानी कुण्ड सञ्चालन नहुँदा आम्दानीको स्रोत गुमेपछि बेनी स्थित एक सहकारीबाट ६९ लाख रुपियाँ ऋण लिएर उपभोक्ता समितिलाई भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपियाँ बजेटबाट नगरपालिका मार्फत चिकित्सालयका लागि आवश्यक उपकरण र सामाग्री खरिद गरिएको छ । योगा, फिँजियो थेरापी, हाइड्रो थेरापी, अकुपंचर र परामर्श कक्ष बनाइएको छ । चिकित्सालय सञ्चालन नहुँदा खरिद गरिएका उपकरणहरू यत्तिकै थन्किएर बसेका छन् । यसै गरी प्रशासन र नगरपालिकासँग चिकित्सालय सञ्चालन सहमतिको लागि प्रक्रिया थालिएको उहाँको भनाइ छ । बजेट व्यवस्थापनको लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई पहल गर्ने उहाँले बताउनुभयो ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा परम्परागत शैलीमा शरीर डुबाएर गरिँदै आएको प्राकृतिक उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन चिकित्सालय बनाइएको हो । चिकित्सालयमा हाइड्रो थेरापी (जल चिकित्सा), म्यानुयुलेटिभ (मसाज थेरापी), योगा थेरापी, पोषण थेरापी, अकुपंचर, फिजियो थेरापी, परामर्शको माध्यमबाट औषधीको प्रयोग बिना विभिन्न नसर्ने रोगबाट थलिएका बिरामीको उपचार गरिनेछ । तातोपानीमा उपचार गराएमा ग्यास्ट्रिक, बाथ रोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुने लगायतका स्वास्थ्य समस्या निको हुने बिरामीहरूको अनुभव छ ।

यस स्थानमा वीरेनून र गन्धन (सल्फर) तत्त्व सहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ । गन्ध आफैँमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । तातोपानी कुण्डमा पुरुष र महिलाहरूका लागि फरक फरक समय तालिका बनाइएको छ । तातोपानी कुण्डमा विशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसहरूको घुँईचो लाग्ने गर्छ । कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ जना निजी स्रोतका शिक्षकलाई तलब भत्ता उपलब्ध गराउँदै आएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो ।