• २० असोज २०८१, आइतबार

सडकपेटीबाट तरकारी हटिया हटाइने

blog

लहान समाचारदाता

लहान, पुस १९ गते । लहान नगरपालिकाको मुख्य सडक चोकको तरकारी हटिया हटाइने भएको छ। सडकपेटीमा लाग्ने तरकारी बजार हटाउन जनगुनासो बढ्दै गएपछि नगरपालिकाले यस्तो पहल थालेको हो।

नगरको सडकपेटीमा बिहान बेलुका किसानले तरकारी बेच्न राख्ने गरेका छन्। यसबाट आवतजावतमा असहज भएको स्थानीयको गुनासो छ। नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार नगरपालिकाको करोडौँको लगानीमा निर्माण भएको कृषि भवनको पूर्वपट्टि किसानलाई तरकारी बिक्री गर्न व्यवस्था मिलाएको छ। यद्यपि अहिले पनि सडक पेटीमा तरकारी बिक्री गर्ने क्रम जारी छ। 

नगरपालिकाको पुरानो १० वटा वडाका लागि मुख्य चोक तरकारी हटियाको प्रमुख केन्द्र बन्ने गरेको छ। मासु पसलहरू र माछा हटियालाई समेत तोकिएको मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्ने स्थानीयको मागलाई ध्यानमा राखेर उचित व्यस्थापनका लागि कृषि र पशु शाखालाई समेत खटाइसकेको प्रमुख चौधरीले प्रस्टयाउनुभयो। 

नगरपालिका वडा–५ मा सोमबार र शुक्रबार लाग्ने ठूलो कृषि हाटबजारको व्यवस्थापनका लागि समेत चाँडै टेन्डर अह्वान हुने नगरप्रमुख चौधरीले प्रस्ट गर्दै भन्नुभयो, ‘‘किसानको बृहत् हितलाई ध्यानमा राखेर बजेट विनियोजन गरी कार्य गर्न नगरपालिका तत्पर रहेको छ।’’