ललितपुर महानगरपालिकाले अन्तरपालिका सहकार्य गरी गोदावरीदेखि शिवपुरीसम्म साइकल लेन छुट्याउने अवधारणा अगाडि सारेको छ। सो लेनको करिब ४५ किलोमिटर दूरी हुने भनिएको छ। ललितपुर महानगरपालिकाले गोदावरी नगरपालिका, काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको अन्तरपालिका सहकार्यमा साइकल लेन छुट्याउने अवधारणा अगाडि सारेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्रालयको अनुमति लिएर मात्र कूटनीतिक व्यक्तिसँग भेट गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मङ्गलबार विभिन्न निकायका सचिवहरूसँग कामको जानकारी लिँदै प्रधानमन्त्रीले परराष्ट्रको अनुमति नलिई उच्च सरकारी अधिकारीले विदेशी व्यक्तित्व र कूटनीतिक नियोगका पदाधिकारीसँग भेट गरेको भन्दै आइन्दा त्यस्तो नगर्न चेतावनी दिनुभएको हो ।
पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । आगलागीमा परि मेघबहादुर सहित दुई जना घाइते हुनु भएको छ ।
पछिल्लो चार दिनदेखि मधेश प्रदेशका जिल्लामा शीतलहरसँगै बढेको चिसोले जनजीवन थप कष्टकर बनेको छ। प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा शीतलहरसँगै पश्चिमी हावाले जनजीवन थप कष्टकर बनेको हो।
पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लखन्देही पुलमा हरेक साँझ गाडीको जाम लाग्दा यात्रुले सास्ती पाएका छन्। उखु बोकेका टायरगाढा, ट्याक्टरलगायतका सवारीका कारण पुलमा जाम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ। पुल अत्याधिक जीर्ण रहेको र उखु बोकेका गाडी बिस्तारै पास हुनुपर्ने भएकाले पुलमा जाम बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक ईश्वर कार्कीले बताउनुभयो। लखन्देही पुलमा अरु समयमा पनि प्रायः सवारीको जाम हुने गरेको छ। ठूलाखाले सवारी एकतर्फी रूपमा पास हुने उक्त पुलमा साँझको समयमा काठमाडौँ जाने रात्रि बसहरूको जाम भइरहने गर्छ।
विराटनगर महानगरपालिकाले नगरवासीको भावनाविपरीत प्रदेश संरचनालाई महानगर बाहिर लैजाने गरी प्रदेश सरकारलाई जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको छ। विराटनगर महानगरपालिकाको कार्यपालिका बैठकले प्रदेश राजधानीका लागि आवश्यक संरचना निर्माण गर्न भन्दै अर्कै स्थानीय तहमा रहेको जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको हो।
केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्। शुक्रबारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्यधिक बढेको लुक्लाका तोयाकुमार श्रेष्ठले जानकारी दिनुभयो। चिसोका कारण त्यहाँका नागरिकहरू आगो तापेर बसेका छन् भने घरबाहिरको काम गर्नसमेत कठिनाइ भएको बताइएको छ।
राजस्व अनुसन्धान विभाग ललितपुरले ललितपुर महानगरपालिका–११, कुम्भेश्वर निवासी त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा पेस गरेको अभियोगपत्रमा महर्जनविरुद्ध छ करोड १७ लाख ९२ हजार रुपियाँ बिगो दाबीसहित हदैसम्मको कानुनी सजायको माग गरिएको छ ।
डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा. दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य वृद्धि फिर्ता गर्न सहमत भएका हुन् । डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए । प्रतिलिटर १४ रुपियाँ वृद्धि गरेपछि त्यसको चर्को आलोचना भएको थियो । त्यसपछि पुस १७ गते सचिव खरालको उपस्थितिमा बसेको डेरी उद्योगी र सरोकारवालासहितको बैठकले मूल्य वृद्धि फिर्ता लिन आग्रह गरेको थियो । तर, उद्योगीहरूले पुस १८ गते एक विज्ञप्ति जारी गरी मूल्य वृद्धि फिर्ता नलिने जनाएपछि मङ्गलबार पुनः उद्योगीसँग छलफल गरेर मूल्य वृद्धि फिर्ता गरिएको हो ।
नेपाली सेनाले उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणको नियन्त्रणमा लिएको छ। सैनिक निरीक्षण निर्देशनालयका निरीक्षाधिकृत रहनुभएका शाही अवकाशमा जानुपूर्व बिदामा रहनुभएको थियो। उपरथी शाहीमाथि आर्थिक अनियमितता गरेको आरोपमा सैनिक मुख्यालयले अनुसन्धानका क्रममा जङ्गी अड्डास्थित सैनिक प्रहरी गणमा राखेको छ।
पुर्खा तथा थातथलोको मोह र सम्मान कतिसम्म रहन्छ भन्ने उदाहरणीय घटना धनकुटामा भएको छ । जन्मथलोको मात्र होइन थातथलो हेर्ने र परिवारमा पुनर्मिलन हुने चाहले ८१ वर्षीय वृद्ध गङ्गाप्रसाद पोखरेललाई १०७ वर्षपछि म्यानमारबाट धनकुटाको चुङ्माङसम्मको यात्रा गराएको हो । गङ्गाप्रसाद नेपालमा होइन म्यानमारमा जन्मनुभयो, उतै हुर्कनुभयो र जिन्दगीको ८१ वर्ष म्यानमारमै बिताउनुभयो । केही दिनअघि भने उहाँ धनकुटाको पाख्रिवास नगरपालिका–१०, चुङ्माङ आइपुग्नुभएको छ, जुन उहाँको पुर्खाको जन्मभूमि हो ।
सप्तरी जिल्ला अदालतले पञ्चहरूलाई कैद सजायसहितको फैसला गरेको छ ।
ताप्लेजुङ जिल्लामा आगामी दुई वर्षभित्र विद्युतीकरण हुने भएको छ। नेपाल विद्युत प्राधिकरणमार्फत दुई वर्षभित्र जिल्लाभर विद्युतीकरणको कार्य हुने भएको हो।
काठमाडौं, पुस १९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग अध्यक्ष तिमिल्सिनाले भेटवार्ता गर्नुभएको हो। भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष र एक सदस्यको चुनावको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। यसका अतिरिक्त भेटवार्तामा कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन र राष्ट्रिय सभाबाट पारित पाँच वटा विधेयकका सम्बन्धमा छलफल भएको छ। राष्ट्रिय सभामा उत्पति भइ लामो छलफलपछि पारित भएर प्रतिनिधि सभामा गएका विभिन्न पाँच विधयेक प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए। निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीती अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधयेक रहेका छन्। त्यसैगरी प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष तिमिल्सिनाले मुस्ताङको कोरला नाकामा नेपालतर्फ भन्सार कार्यालय निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभएको थियो। कोरला नाकामा चीनतर्फ आवश्यक पूर्वाधार निर्माण भए पनि नेपालतर्फ पूर्वाधार नबन्दा नाका सञ्चालनमा आउन सकेको छैन।
यातायात कार्यालयमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने सात जनालाई प्रहरीले नियन्त्रमा लिएको छ। पाँच जना विचौलिया र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने दुई जनालाई विभिन्न कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो।