• १२ असोज २०८१, शनिबार

ताप्लेजुङमा दुई वर्षभित्र घर-घरमा विद्युत

blog

राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै साब्लाखुमा राखिएको एक ट्रान्समिटर । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १९ गते। ताप्लेजुङ जिल्लामा आगामी दुई वर्षभित्र विद्युतीकरण हुने भएको छ। नेपाल विद्युत प्राधिकरणमार्फत दुई वर्षभित्र जिल्लाभर विद्युतीकरणको कार्य हुने भएको हो।

जिल्लाका प्रत्येक वडा, टोल हुँदै घर-घरसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याउनेगरी नेपाल विद्युत प्राधिकरणले योजना अघि बढाएको हो। 

ताप्लेजुङबासीको हरेक घरमा दुई वर्षभित्र विद्युतको पहुँच पु¥याउनेगरी योजना अगाडि बढाइने भएको छ। एक नगर र आठवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाभित्रका दूरदराज तथा दुर्गम क्षेत्रसम्म नै दुई वर्षभित्र विद्युतीकरणको कार्य भइसक्ने छ। 

नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रको समन्वयमा सदरमुकाम फुङ्लिङमा भएको सरोकारवालाको बैठकले आगामी दुई वर्षभित्र जिल्लाभर विद्युतको पहुँच पु¥याइसक्ने निर्णय गरेको छ।

पाँचथर–इलाम–झापा ग्रामीण विद्युतीकरण तथा सव–स्टेसन निर्माण आयोजना, स्थानीय तहका पदाधिकारी र ठेकेदार कम्पनी वाइबा इन्फ्राटेकका प्रतिनिधिसमेत सहभागी बैठकले निर्धारित समयभित्र विद्युतीकरण गरिसक्ने निर्णय गरेको हो। 

हालसम्म सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाका केही टोलबाहेक र पाथीभरा याङ्वरक गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ। बाँकी स्थानीय तहका केही वडा तथा टोलहरुमा विद्युत सुविधा पुगे पनि अधिकांस क्षेत्रमा विद्युत पुग्न सकेको छैन। विद्युतको पहुँच पुग्न बाँकी रहेको क्षेत्रमा दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने गरी निर्णय भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो। 

अध्यक्ष वनेमका अनुसार विद्युतीकरणका लागि ट्रान्समिटर राख्ने ठाउँहरु छनोट गरिएको छ। प्रत्येक स्थानीय तहका उपयुक्त ठाउँ छनोट गरी ट्रान्समिटर राखेर विद्युतीकरणको कार्य अघि बढाउनलाई त्यस्ता ठाउँको पहिचान गरिएको उहाँले बताउनुभयो। यसअघि सुरु भएका विद्युतीकरणका कार्यमा ढिलाई भएको भए त्यसलाई तीब्रता दिने पनि निर्णय भएको छ। 

केही टोलबाहेक फुङ्लिङ नगरपालिकाका ११ वटै वडा, पाथीभरा याङ्वरक गाउँपालिकाका ६ वटा वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगिसकेको छ। त्यस्तै मिक्वाखोला गाउँपालिका–१ र २ खोक्लिङ, सिदिङ्वा गाउँपालिका–४ साब्लाखु, सिरिजङ्घा गाउँपालिकाको सिनाम लगायतमा राष्ट्रिय प्रसारण लाइनको सुविधा पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

त्यसैगरी मैवाखोला गाउँपालिका, आठराई त्रिबेणी, मेरिङ्देन, फक्ताङ्लुङ गाउँपालिकाका केही वडाहरुमा पनि विद्युत विस्तार भइसकेको प्राधिकरणले जनाएको छ। जिल्लाका केही वडाहरुमा विद्युतीकरणको कार्य जारी रहेकोसमेत प्राधिकरणले जानकारी दिएको छ। यता सरोकारवालाको बैठकले गरेको निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गरिने प्राधिकरणका एक पदाधिकारीले बताउनुभयो।