• १२ असोज २०८१, शनिबार

घरमा आगलागी हुँदा दुईको मृत्यु, दुई घाइते

blog

मेगबहादुर गुरुङको घरमा भएको आगलागी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम,  पुस २० गते । पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । आगलागीमा परि मेघबहादुर सहित दुई जना घाइते हुनु भएको छ । 

ज्यान गुमाउनेमा मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा विजेन्द्र गुरुङ घाइते हुनु भएको छ । घाइतेको अवस्था सामान्य छ । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार सो घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भागेर ज्यान बचाउन सफल भएका छन् । खतिवडाका अनुसार आगलागीबाट घर पूर्ण क्षति भएको छ भने आगलागीको कारण खुलेको छैन । आगलागी रातको १:३० बजे सुरु भएको थियो । स्थानीयसँगै प्रहरी चौकी तमाखेबाट खटेको टोलीले आगो नियन्त्रणको प्रयास गरेपनि निभाउन सम्भव नभएको बताइएको छ । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डिएसपी खतिवडा नेतृत्वको टोली सहित दमकल समेत पुगेको थियो । घटनामा ५० लाख रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।