• २० असोज २०८१, आइतबार

परराष्ट्रको अनुमतिमा मात्र कूटनीतिक भेटघाट

blog

काठमाडौँ, पुस २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्रालयको अनुमति लिएर मात्र कूटनीतिक व्यक्तिसँग भेट गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मङ्गलबार विभिन्न निकायका सचिवहरूसँग कामको जानकारी लिँदै प्रधानमन्त्रीले परराष्ट्रको अनुमति नलिई उच्च सरकारी अधिकारीले विदेशी व्यक्तित्व र कूटनीतिक नियोगका पदाधिकारीसँग भेट गरेको भन्दै आइन्दा त्यस्तो नगर्न चेतावनी दिनुभएको हो । 

यस्ता भेटघाटका लागि कूटनीतिक आचारसंहिता तयार गर्न प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको हो । उहाँले मित्रराष्ट्रहरूसँग असंलग्नताको सिद्धान्तकेन्द्रित आर्थिक कूटनीतिको मार्गमा अघि बढ्न पनि थप निर्देशन दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रो सम्बन्ध सबैसँग मित्रता, कसैसँग छैन शत्रुता नै हो । यही नीति अनुसरण र अवलम्बन गर्दै आर्थिक कूटनीति तथा अन्तर्राष्ट्रिय समुदायको सहयोगमा द्विपक्षीय र बहुपक्षीय विकास सहायता परिचालन गर्नुहोस् ।”

साथै उहाँले सरकारी उच्चाधिकारी काम छाडेर सभा सेमिनारमा भाग लिन जाने गरेको भन्दै आपत्ति जनाउनुभयो । कार्यालय समयमा काम छाडेर सेमिनार गोष्ठी, प्रशिक्षण कार्यमा नजान पनि उहाँले निर्देशन दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले राहदानीलगायतका दैनिक सेवा प्रवाहमा नागरिकले सास्ती खेप्नुपरेको भन्दै एक महिनाभित्र सुधार नआए सम्बन्धित कर्मचारीलाई दण्डित गर्ने चेतावनीसहितको निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले सर्वसाधारणले लिने दैनिक सेवामा लाइनको सास्ती एक महिनाभित्र अन्त्य नभए कारबाही गर्नुको विकल्प नरहेको बताउनुभयो । त्यस्ता विषयमा नीतिगत सुधारका प्रस्ताव माग गर्दै प्रधानमन्त्री प्रचण्डले कर्मचारी वर्गले एकअर्कालाई कमजोरी पन्छाएर उम्किन नपाउने चेतावनी दिनुभयो ।

राहदानी छपाइ र वितरण स्थगित

विद्युतीय राहदानी छपाइ र वितरण केही समयका लागि स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले राहदानी, राष्ट्रिय परिचयपत्र र चालक अनुमतिपत्र लिन लाइन लाग्नुपर्ने सास्ती हटाउन निर्देशन दिनुभएकै दिन मङ्गलबारदेखि राहदानी वितरणको अनलाइन सेवा ठप्प भएको हो ।

विभागका प्रवक्ता दुरपदा सापकोटाका अनुसार विद्युतीय राहदानी लिन गरिने आवेदनको अवस्थिति र राहदानी वितरण कार्यसँग जोडिएका प्रविधिगत प्रणालीमा समस्या आएको हो ।

विभागले समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेकाले अनलाइन प्रणाली फेरि सुरु हुन केही समय लाग्ने विभागले वक्तव्य जारी गरेर जानकारी दिएको छ । अर्को सूचना जारी नहुन्जेलसम्म अनलाइन आवेदन र राहदानी जारी नहुने भएकाले त्यस सम्बद्ध कार्यका लागि विभाग परिसरमा नआउन सर्वसाधारणलाई विभागले अपिल गरेको छ तर यसअघि नै राहदानीको बायोमेट्रिक गर्न मिति पाइसकेकाले भने आफूले प्राप्त गरेको मितिमै विभागमा उपस्थित हुन विभागले भनेको छ ।

विभागका महानिर्देशक सुरेन्द्र यादवका अनुसार अनलाइन आवेदन प्रणालीमा नभई छपाइ र वितरण प्रक्रियामा मात्र समस्या आएको हो । विभाग त्यो समस्या समाधान गर्न प्रयासरत छ ।