काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने भएको छ ।
नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
नाम्खा गाउँपालिका–३ को माथिल्लो झुलामा बस्ने तपस्वीलाई खानेपानीको समस्या भएको छ । पानी अभाव भएपछि स्थानीय युवाहरू तीन घण्टा पैदल हिँडेर खानेपानीको व्यवस्था गर्न बाध्य हुँदै आएको छ ।
गत असोजमा आएको बाढी पहिरोले भत्किएर क्षतविक्षत भएको कर्णाली राजमार्ग समयमै मर्मत नहुँदा यात्रुहरूलाई सास्ती भएको छ ।
झापामा बढ्दो आत्महत्या दरलाई रोक्नका लागि आवश्यक योजना तथा कार्यक्रम ल्याउने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवम् प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनु भएको छ ।
कालिकोटको तिलागुफा नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर गराउन विभिन्न सिपमूलक तालिम दिन सुरु गरेको छ ।
पछिल्लो समयमा सामुदायिक विद्यालयहरूले माध्यमिक तहमा सञ्चालन गरेको प्राविधिक शिक्षा तर्फको कृषि विषयका विद्यार्थीहरू कृषि कार्यका लागि खेतमा रमाउन थालेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको घण्टाघरमा १२ वर्षपछि पुराना घडी हटाएर नयाँ घडी जडान गर्न लागिएको छ । १२ वर्षदेखि बन्द घण्टाघरका घडी सञ्चालनमा ल्याउन नसकिएपछि सुर्खेत उद्योग वाणिज्य सङ्घको पहलमा वीरेन्द्रनगर नगरपालिकाले १२ लाख रुपियाँको लागतमा नयाँ घडी जडान गर्न लागेको हो । घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भए पनि पुराना घडीहरू मर्मतसम्भार हुन नसकेपछि विदेशबाट नयाँ घडी मगाएर जडान कार्य सुरु भएको छ । नयाँ घडी जडान गर्न प्राविधिक टोलीले घण्टाघरका पुराना घडीलाई विस्थापित गरी नयाँ जडानको तयारी सुरु गरिसकेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिनुभयो ।
खार्पुनाथ गाउँपालिका–१, लालीबगर क्षेत्रको लोचाकुनामा बनाइएको झोलुङ्गे पुलमा क्षति पुगेको छ । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने बोक्चे गौँडादेखि लालीबगर खण्डको सडक निर्माणका क्रममा कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा क्षति पुगेको हो ।
जाजरकोट दरबारलाई सङ्ग्रहालय बनाउने तयारी गरिएको छ । नेपाल सरकारले चार वर्षअघि बनाएको नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा परेको एक सय वर्षभन्दा पुरानो यस दरबारलाई सङ्ग्रहालय बनाउन लागिएको हो । यसका लागि सम्पदा संरक्षण प्रतिष्ठानले ऐतिहासिक, पुरातात्त्विक सामग्री दान गर्न जाजरकोटवासीलाई आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीको अडानका कारण प्रदेश सरकार गठनमा अन्योल सिर्जना भएको छ।
टीकापुर अस्पतालका हरेक वार्डमा रातो, नीलो, हरियो रङका बाल्टिन राखिएका छन् साथमा काँचका बोतल, सुई र रगतजन्य पदार्थ लागेका सामग्री राख्न साना बाल्टिन पनि छन्। फोहोरहरू छुट्टयाएर तोकिएको भाँडामा राख्न नर्सहरूले बेलाबेलामा जानकारी गराउनुहुन्छ। यसरी छुट्टयाएको सामग्री नजिकैको फोहोर व्यवस्थापन केन्द्रमा लगेर निर्मलीकरण गरिन्छ र बिक्रीका लागि राखिन्छ। अस्पतालमा एक महिनाको अवधिमा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर २८ हजार आय भइसकेको छ।
शनिबार पनि किन आउँछ होला जस्तो लाग्छ, दिनदिनै विद्यालय जान पाए हुन्थ्यो लागिरहन्छ, बझाङको चक्रेश्वर माध्यमिक विद्यालय मालुमेलामा कक्षा–६ मा अध्ययनरत विराज ऐरले भन्नुभयो, “अचेल घरभन्दा विद्यालय प्यारो लाग्छ।” एक घण्टाको पैदल हिँडेर विराज मात्र होइन उहाँका अरू साथीभाइसमेत नियमित विद्यालय आउँछन्। जिल्लाका विश्व खाद्य कार्यक्रमको दिवा खाजा कार्यक्रम लागू भएका विद्यालयहरूमा, प्रारम्भिक तह पढाइ कार्यक्रममार्फत विभिन्न शैक्षिक सामग्रीको प्रयोग गरी शिक्षण गर्नुका साथै विद्यालय स्तरमा विभिन्न शिक्षण सिकाइ क्रियाकलाप सुरु भएपछि विद्यार्थीको पढाइमा रुचि बढ्नुका साथै विद्यालयमा हाजिर हुने दरसमेत बढेको छ। सोही विद्यालयमा अध्ययनरत विद्यार्थी भावना भण्डारीले भन्नुभयो, “विभिन्न शैक्षिक सामग्रीको प्रयोगबाट शिक्षण सिकाइ गर्नुका साथै भोक लागेका बेला खाजाको समेत व्यवस्था हुँदा निर्धक्क तरिकाले विद्यालयमा पढ्न मन लाग्छ।”
सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरूले प्रदेशलाई अझ समृद्ध बनाउन साझा धारणा बनाउनु पर्ने बताउनु भएको छ। सोमबार १ घण्टा ३४ मिनेट चलेको बैठकमा पाँचवटा दलका प्रतिनिधि र एक स्वतन्त्र प्रदेश सभा सदस्यले प्रदेशलाई समृद्ध बनाउने विभिन्न उपाय सुझाउनु भएको थियो। बैठकमा भाग लिएका प्रदेश सभा सदस्यहरूले एकअर्कालाई विजयी भएकोमा बधाई तथा शुभकामनासमेत दिनु भएको थियो। प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसका तर्फबाट बोल्नु भएका प्रदेश सभा सदस्य शिवराज भट्टले प्रदेशको गरिबी, बेरोजगारी अन्त्य गर्न सीपमूलक शिक्षा दिइनुका साथै प्राकृतिक विपत्तिसँग जुध्ने काम गर्नुपर्ने बताउनुभयो।