• १२ असोज २०८१, शनिबार

झापामा आत्महत्याको दर रोक्ने योजना ल्याउँदै प्रहरी

blog

कार्यक्रममा बोल्नुहुँदै झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी । तस्बिर: गोरखापत्र

विष्णुप्रसाद पोखरेल

दमक, पुस १९ गते । झापामा बढ्दो आत्महत्या दरलाई रोक्नका लागि आवश्यक योजना तथा कार्यक्रम ल्याउने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवम् प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनु भएको छ । उहाँले प्रहरीका सबै कार्यालयहरूलाई नागरिक मैत्री बनाउँदै तत्काल गुनासो सुनुवाइ गर्ने किसिमले विकास गर्ने पनि प्रतिबद्धता पनि जनाउनु भएको छ ।

एक साता अघि सरुवा भएर झापा आउनु भएका रेग्मीले नियमित कामहरूलाई निरन्तरता दिँदै आत्महत्या न्यूनीकरणलाई प्राथमिकताका साथ लिएर आफू अघि बढ्ने बताउनु भएको हो । मनोसामाजिक परामर्श अभियानलाई हरेक स्थानीय तहमार्फत टोल-टोलमा पुर्‍याएर आत्महत्या न्यूनीकरण गर्न सकिने पनि उहाँले बताउनुभयो ।

लागू औषध, चोरी तस्करी, राजस्व चुहावट लगायतको क्षेत्रमा मात्र होइन अब मानिसहरूलाई मर्नबाट कसरी जोगाउन सकिन्छ भनेर ध्यान दिने बेला भएको छ, उहाँले भन्नुभयो । झापा देशमै सबैभन्दा बढी आत्महत्या हुने जिल्लाहरूमा प्रमुख रूपमा आउँछ र यो कार्यलाई निरुत्साहित गर्न हामी सबै लाग्नुपर्छ, रेग्मीले भन्नुभयो ।

जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३११ जना र २०७७/०७८ मा ३३४ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्डमा उल्लेख रहेको छ । यसै गरी २०७६/०७७ मा २२३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यही आर्थिक वर्षमा झापाको कचनकवलमा एउटै रुखमा ३ जना र केही दिन अघि चार आलिको जङ्गलमा २ जनाले आत्महत्या गरेका थिए ।

रेग्मीले प्रहरी कार्यालयमा आइपुगेको सेवाग्राही अलमलमा नपरी सेवा दिने अवस्था बनाउन सबै मातहतका प्रहरी कार्यालयहरूलाई निर्देशन दिइएको जनाउँदै सोही अनुसार हुने पनि बताउनु भयो ।