• ९ मंसिर २०८१, आइतबार

अस्पतालको फोहोर बन्यो मोहर

blog

टीकापुर समाचारदाता

टीकापुर, पुस १९ गते । टीकापुर अस्पतालका हरेक वार्डमा रातो, नीलो, हरियो रङका बाल्टिन राखिएका छन् साथमा काँचका बोतल, सुई र रगतजन्य पदार्थ लागेका सामग्री राख्न साना बाल्टिन पनि छन्। 

फोहोरहरू छुट्टयाएर तोकिएको भाँडामा राख्न नर्सहरूले बेलाबेलामा जानकारी गराउनुहुन्छ। यसरी छुट्टयाएको सामग्री नजिकैको फोहोर व्यवस्थापन केन्द्रमा लगेर निर्मलीकरण गरिन्छ र बिक्रीका लागि राखिन्छ। अस्पतालमा एक महिनाको अवधिमा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर २८ हजार आय भइसकेको छ।

अस्पतालमा प्रयोग भइसकेका प्लास्टिक र काँचका बोतल, प्लास्टिक, कागज, पन्जा, सिरिन्ज, पाइप, प्याडलगायतका सामग्री अटोक्लेभ मेसिनमा राखेर निर्मलीकरण गरिन्छ। यसरी निर्मलीकरण गरेको रगतजन्य पदार्थ खाल्डोमा राखिने, प्याड सुकिसकेपछि आगोले जलाउन मिल्ने र अन्य सामग्री पुनः प्रयोगका लागि बिक्री गरिन्छ। 

“अस्पतालजन्य फोहोर अन्यत्र विसर्जन गर्न पनि नमिल्ने र अस्पतालभित्रै जलाउँदा प्रदूषण पनि हुने समस्या रहेकोमा अटोक्लेभ मेसिनको प्रयोगले समाधान भएको छ,” अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारी भन्नुहुन्छ, “पोखरा अस्पतालको फोहोर व्यवस्थापन गर्ने शैलीबाट सिकेर दुई जनालाई सेती प्रादेशिक अस्पतालमा तालिम दिएर काम सुरु गरेका छौँ, लागत खर्च उठ्ने गरेर काम गर्दैछौँ।” अस्पतालका लागि कोइका र विश्व स्वास्थ्य सङ्गठनबाट एक–एकवटा अटोक्लेभ मेसिन प्राप्त भएको छ।

अस्पतालका दुई जना कर्मचारीले दैनिक छ घण्टा जति काम गरिरहेका छन्। डेढसय लिटर क्षमताका दुईवटा मेसिन भए पनि हाल अस्पतालको फोहोर मात्रै निर्मलीकरण गर्न एउटै मेसिनले भ्याइरहेको सफाइकर्मी काशीराम रेग्मीले जानकारी दिनुभयो। फोहोर वर्गीकरण गरेर ल्याउने र लागतमा सहभागिता गर्ने हो भने नगरपालिकाको फोहोर पनि प्रशोधन गर्न सकिने अस्पतालका अध्यक्ष सोडारी बताउनुहुन्छ। 

फोहोर थपिए दुइटै मेसिनको प्रयोग गर्न सकिनेछ। निर्मलीकरण गरेको अस्पतालजन्य सामग्री लगेर चिप्स बनाई बुटवलका प्लास्टिक कम्पनीलाई बेच्ने गरेको जय सियाराम होजियारी उद्योग जोशीपुरका सञ्चालक राजेश मण्डल बताउनुहुन्छ।