• २० असोज २०८१, आइतबार

तपस्वीलाई खानेपानी समस्या

blog

तीन घण्टा टाढाको पानी बोकेर व्यवस्था गर्नुपर्ने माथिल्लो झुला बस्ती । तस्बिर: राजन रावत

राजन रावत 

हुम्ला, पुस १९ गते । नाम्खा गाउँपालिका–३ को माथिल्लो झुलामा बस्ने तपस्वीलाई खानेपानीको समस्या भएको छ । पानी अभाव भएपछि स्थानीय युवा तीन घण्टा पैदल हिँडेर खानेपानीको व्यवस्था गर्न बाध्य हुँदै आएको  छन् । 

झुलाको गुफामा तपस्या गर्न बस्ने वृद्धवृद्धाका लागि हालसम्म खानेपानीको कुनै योजना नपरेकाले पानीको समस्या वर्षदेखि भोग्नु परि रहेको हो । उक्त वडाको खगालगाउँका स्थानीय प्रेम लामाले माथिल्लो झुलाका गुफामा तपस्या गर्न बस्दै आउनु भएका वृद्धवृद्धाका लागि स्थानीय युवाहरूले तीन घण्टा पैदल हिँडेर खानेपानीको व्यवस्था गर्न बाध्य हुँदै आएको बताउनुभयो । उहाँले बस्तीमा रहेका गुफामा बस्नेहरूका लागि हालसम्म खानेपानीको लागि कुनै योजना नपरेको कारण खानेपानीको समस्या हालसम्म जस्ताको त्यस्तै रहेको बताउनुभयो । 

माथिल्लो झुला बस्तीका ६० घरधुरी वृद्धवृद्धाहरुले गुफामा बसेर तपस्या गरी रहेको बेला खानेपानीको समस्या भोग्नु परेको छ । उहाँले वर्षा याममा पानी परेको बेला सानो कुवामा पानी आउने भए पनि हिउँद लागेसँगै सो कुवा सुक्ने र वर्षमा नौ महिना तीन घण्टा टाढाको खोलाबाट मानिसले पानी ओसारेर व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

झुला बस्तीका गुफामा साठी वर्ष उमेर कटेका बृद्धबृद्धाहरु बसोबास गर्ने भएको कारण उहाँहरूले त्यति टाढाको खोलाबाट पानी बोक्न सक्ने अवस्था रहेको छैन । खगालगाउँकै अर्का स्थानीय देवा लामाले गुफामा तपस्या गर्दै आउनु भएका वृद्धवृद्धाहरुका लागि वडाका तीन वटा बस्तीबाट जाने पाँचदेखि सात जना युवाहरूले दश दिनसम्म पुग्ने पानीको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको छ । उहाँले गुफामा बस्नेहरूका लागि तीन गाउँबाट गएका युवाहरूले तीन दिन लगाएर पानीको व्यवस्था गरेर गाउँ फर्कने गर्दै आउनु भएको बताउनुभयो । त्यसका एक दिन आउन एक दिन जान र एक दिन झुलामै बसेर पानी ओसार्ने कार्य गर्नुपर्ने हुन्छ । त्यो पनि युवाहरूले पालो हालेर गुफामा बस्ने वृद्धवृद्धाहरुका लागि पानी बोकेर व्यवस्था गर्दै आउनु भएको छ । उहाँले झुलाका लागि खानेपानीको व्यवस्था गर्न वडा, गाउँपालिकादेखि अन्य विकासे कार्यालयमा अनुरोध गर्दा कतै सुनुवाइ हुन नसकेको गुनासो गर्नुभयो । 

एक सय वर्ष अगाडीदेखि माथिल्लो झुलामा साठी वर्ष उमेर कटेका वृद्धवृद्धाहरु गुफामा तपस्या गर्न बस्दै आउने गर्नु भएको छ । घरमा काम गर्न नसक्ने अवस्था भएपछि गाउँदेखि टाढाको एकान्त स्थानमा वृद्धवृद्धाहरु तपस्या गर्नका लागि बस्ने चलन लामा समुदायमा रहेको छ । ध्यान गरेर मनमा शान्ति प्राप्त गर्ने वृद्धवृद्धाहरुले एकातिर पिउने पानीको समस्याबाट पीडित हुनु परेको छ भने अर्कोतर्फ गाउँका युवाहरूले समेत दुःख भोग्नु परेको छ ।