जेनजीको नाममा बर्दीबास १ स्थित सङ्घीयमन्त्री शरदसिंह भण्डारीको घर, वडा नं ३, गौरीडाँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवको घरमा तोडफोड र आगजनी भएको छ ।
जेनजीको प्रदर्शनका कारण जिल्लाका राजविराज नगरपालिका, खड्क नगरपालिका, कञ्चनरूप नगरपालिका बोदेबरसाइन नगरपालिका लगायत जिल्लाका एक दर्जन गाउँपालिका नगरपालिकाको कार्यालय तोडफोड र आगजनी गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द रहने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शर्पाका अनुसार पछिल्लो समय उत्पन्न भएको असमान्य परिस्थितीका कारण विमानस्थल बन्द गरिएको हो ।
महोत्तरीको जलेश्वर कारागारबाट मङ्गलबार साँझ ५७२ जना कैदीहरू भागेका छन् । प्रहरीका अनुसार कारागार बाहिर रहेका प्रदर्शनकारी र भित्रका कैदीहरूले संयुक्त रूपमा कारागारको पर्खाल भत्काएपछि उनीहरू फरार भएका हुन् ।
भदौ २५ गते (आज) १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागु गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभयो ।
महोत्तरी जिल्लाभरि लगाइएको कर्फ्यू आदेशलाई निरन्तरता दिइएको छ।
नेपालमा उत्पन्न जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकले नजिकको सुरक्षा निकाय वा तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्न नेपाली सेनाले अनुरोध गरेको छ ।
नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ ।
जिल्लाको मैवाखोला गाउँपालिका–६, च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुई वटा घर पुरिएका छन्भने दुई जना बेपत्ता भएका छन् ।
मङ्गलबार दिनभर तनावग्रस्त सप्तरी सदरमुकाम राजविराज अनिश्चितकालीन कर्फ्युको आदेशपछि बुधबार सुनसान देखिएको छ ।
नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशभर परिचालनमा रहेपछि पछिल्लो १२ घण्टामा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।
कारागार कार्यालय गौर, रौतहटबाट दुई सय ६० जना कैदीबन्दी मङ्गलवार राति फरार भएका छन् । फरार भएकामध्ये दुई महिला र दुई सय ५८ पुरुष रहेका छन् ।
भदौ २५ गते बुधबार सिमकोट गाउँपालिकाले शोक बिदा दिएको छ । भदौ २४ र २५ गते भएको प्रदर्शनका क्रममा मृत्यु हुने नागरिकको सम्झना गर्दै गाउँँपालिकाले एक दिन शोक बिदा दिएको हो ।
बैतडी जिल्ला कारागारमा रहेका सबै कैदीबन्दी सोमबार साँझ कारागार तोडफोड गरी फरार भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङले मुख्य चार बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।