कमल खत्री
धम्बोझी, चैत २१ गते । दोस्रो योगिनी गोल्डकप फुटबल प्रतियोगिता–२०८२को उद्घाटन खेलमा आयोजक योगिनी युवा क्लब ‘बी’ र ब्रदर्श एफसी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
चैत २९ गते सम्म संचालन हुने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्ट्स क्लब, मानवी स्पोर्ट्स क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योती युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको छ ।
योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा हुनेछ ।प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार रुपियाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक गणेश राईले बताउनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक राईले बताउनुभयो ।
स्थानीय फुटबल खेलाडीलाई लक्षित गरेर आयोजना गर्न लागिएको प्रतियोगितामा बाँके र बर्दियाका क्लबलाई मुख्य प्राथमिकतमा राखेर आयोजना गर्न लागिएको आयोजक योगिनी युवा क्लबका अध्यक्ष कमल पुनले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘प्रतियोगिताको तयारी पुरा भएको छ । युवालाई खेलकुदमा सक्रिय बनाउन प्रतियोगिता आयोजना गरेका हौँ । प्रतियोगिताले खजुरामा खेलकुदको माध्यमबाट युवाहरुलाई सकारात्मक कार्यमा सक्रिय बनाउनेछ ।’’
बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको योगिनी कप फुटबल प्रतियोगिताको पहिलो संस्करण २०७६ असोज ११ देखि १७ गते सम्म संचालन भएको थियो ।
खजुरा गाउँपालिकाको आर्थिक सहयोग, खजुरा गाउँपालिका वडा नम्बर २ को समन्वयमा हुन लागेको प्रतियोगिताको पहिलो संस्करणलाई सिजी ब्रुअरी–नेपाल ले मुख्य प्रायोजन गरेको थियो ।