• १५ पुस २०८२, मङ्गलबार

महोत्सवमा ‘मेड इन बागलुङ’लाई प्राथमिकता

blog

बागलुङ महोत्सवको स्टलहरुमा राखिएको तमानखोलाको स्थानीयहरुले निर्माण गरिएका हस्तकलाका सामग्रीहरु । तस्बिर : नवराज नेपाली

नवराज नेपाली 
बागलुङ (गलकोट), पुस  १५ गते ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामा स्थित बाङ्गेचौर खेलमैदानमा जारी महोत्सवमा ‘मेड इन बागलुङ’ का स्टललाई निःशुल्क उपलब्ध गराइएको छ । स्थानीय तहमा उत्पादन भएका हस्तकलादेखि कृषि उपजका सामग्रीलाई ‘मेड इन बागलुङ’को नामबाट ब्राण्डीङ गर्न थालिएको छ ।
महोत्सवमा दुई सयभन्दा बढी व्यापारिक स्टलहरुमा बागलुङमा उत्पादित समग्रीहरुले ‘मेड इन बागलुङ’को नामबाट छुट्टै प्राथमिकताका साथ स्टलहरु पाएको बागलुङ उद्योग वाणिज्य संघका अधयक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो । जुन स्टलहरुलाई आयोजकले  निःशुल्क प्रदान गरेको बताउनुभयो ।

उहाँले बिहुँ र सिगानाका सुन्तलादेखि बागलुङमा प्याकेजिङ गरिएको मकैदेखि हस्तकलाका विभिन्न सामग्री बिक्रीका लागि एक दर्जन स्टलहरुलाई मेड इन बागलुङका नाममा छुट्टाइएको जानकारी दिनुभयो । महोत्सवमा बागलुङमा उत्पादन भएको डाला नाङ्ला, ठेकादेखि अल्लोका कपडासम्म महोत्सव स्थलमा देख्न सकिन्छ ।

महोत्सवमा बिहुँको बिहुँकोट साना किसान कृषि सहकारीमार्फत प्याकेजिङ गरिएको सुन्तला, तमानखोलाको स्थानीय हस्तकलाका सामग्री र ताराखोलाको भाँगोदेखि डोका नाम्लासम्म महोत्सवका स्टलहरुमा देख्न पाइएको छ । महोत्सवमा बिक्रीसँगै दर्शकको नजरमा स्थानीय उत्पादन पर्न गएमा बजारीकरणमा सघाउने भएकाले ताराखोलाका स्थानीय उत्पादनहरु डाला, नाग्ला, भागो, रातो च्याउ बिक्रीका लागि ल्याएको महिला उद्यमी गौमती घर्तीले जानकारी दिनुभयो । उहाँले ताराखोलामा ढाकाको कपडाबाट तयार गरिएको हस्तकलाका सामग्री समेत बिक्रीका लागि ल्याइएको बताउनुभयो ।

महोत्सव स्थलमा तमानखोलाको स्थानीय उत्पादनमा सबैको आँखा पुग्न थालेको छ । महोत्सवमा उनिहरुले अल्लोका कपडा, तामाका भाडा, फापारको पिठो, जौको पिठो, आलु, सिमी, टिमुर, कोदोको पिठो, मकैको आटा, निगालोबाट बनेका सामग्री तथा भेडाको उन लगायतका थुप्रै घरेलु सामाग्री बिक्रीका लागि ल्याएको महिला उद्यमी जुनमाया घर्तीले बताउनुभयो ।

उहाँले व्यापारमात्रै नभएर स्थानीय उत्पादनको जानकारी दिनका लागि तमानखोला गाउँपालिकाको संयोजनमा महोत्सवमा आएर स्थानीय उत्पादनको स्टल राखिएको बताउनुभयो । स्टलमा हस्तकलाका सामग्री, कृषिका आधुनिकदेखि परम्परागत औजार, कृषि प्रदर्शनी, सुन्तला प्रदर्शनी तथा बिक्री लगायतका स्टलहरु समेत देख्न सकिन्छ । बागलुङका १० वटै स्थानीय तहका उत्पादन, कृषि उपज तथा हस्तकलाका घरेलु सामग्री बिक्री तथा प्रदर्शनीका लागि एक/एक वटा स्टल उपलव्ध गराइएको मेलाका आयोजक तथा मेड इन बागलुङ कार्यक्रमका संयोजक सुदिप सागर कँडेलले जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म तमानखोला, ताराखोला, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका स्थानीय उत्पादनको स्टलहरु तयार भएर बिक्री वितरणको काम थालिएको जानकारी दिनुभयो । महोत्सव पुस २१ गतेसम्म चल्ने छ ।