ज्ञानु पंगेनी
मध्यविन्दु, चैत २१ गते । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर नवलपुरमा तेस्रो आदिवासी जनजाति महोत्सव हुने भएको छ । चैत २६ गतेदेखि वैशाख ७ गतेसम्म कावासोती –२ भाटटोला बेलचोकस्थित नवदुर्गा रंगशाला खेल मैदानमा महोत्सव आयोजना हुन लागेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवमार्फत आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति, भेषभूषा, रहन–सहन, परम्परागत खाना तथा जीवनशैलीको संरक्षण, प्रवर्धन र प्रचार–प्रसार गर्ने उद्देश्य रहेको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, नृत्य, झाँकी प्रदर्शन, कला संस्कृतिसँग सम्बन्धित स्टलहरू तथा स्थानीय उत्पादनको प्रदर्शनी रहने छ ।
साथै होटल, पर्यटन तथा व्यापार व्यवसायसँग सम्बन्धित स्टलहरू पनि रहने उहाँले बताउनुभयो । महोत्सवले स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन, पर्यटन प्रवर्धन गर्न तथा आदिवासी जनजातिको मौलिक संस्कृति उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका सचिव मदन कुमालले बताउनुभयो ।
महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने र दर्शकको व्यापक सहभागिता हुने विश्वास लिएको कुमालले बताउनुभयो । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई टिकटमा सहुलियत तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको कुमालले जानकारी दिनुभयो ।
महोत्सवमा आदिवासी जनजातिका मौलिक घरहरू, खानाका स्टलहरू, प्रदर्शनीका साथ व्यापारिक स्टलहरू गरी दुईसय बढी स्टल रहने कुमालले बताउनुभयो । उदघाटनको दिन कावासोतीको फलफूल चोक अहिंसा पार्कबाट शोभा कलशयात्रा निकालिनेछ । महोत्सवको मुख्य आकर्षणको रूपमा लन्डन ब्रिज, आइफिल टावर रहने जनाएको छ । महोत्सवमा साढे २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।