• २१ चैत २०८२, शनिबार

भू-सेवा केन्द्रको आन्दोलनले सुनसरी मालपोत ठप्प, दैनिक एक करोड राजस्व प्रभावित

blog

इनरुवा, चैत २१ गते । प्रहरीको छापामारीका क्रममा पक्राउ परेका सहकर्मीको रिहाइ माग गर्दै व्यवसायीले भू-सेवा बन्द गरेपछि सुनसरी मालपोतको सेवा दुई दिनदेखि ठप्प भएको छ ।

दैनिक औसत एक करोड रुपियाँ राजस्व सङ्कलन गर्दै आएको भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी हिजोदेखि सुनसान छ । इजाजत प्राप्त निजी फर्महरूले सेवा बन्द गरिदिँदा टाढा-टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् भने कार्यालयका कर्मचारी फुर्सदिला बनेका छन् । कार्यालय परिसर बाहिर रहेका भू-सेवा केन्द्रले काम रोक्दा मालपोतको सम्पूर्ण प्रक्रिया अवरुद्ध हुने गरेको छ ।

कार्यालयमा आफ्नै भू-सेवा डेस्क नहुनु र आन्दोलन भइहालेमा के गर्ने भन्ने पूर्वतयारी नभएकाले मालपोतको कामकाज पूर्ण रूपमा ठप्प भएको देखिएको छ । सुनसरी इनरुवा मालपोतबाट भू-सेवा इजाजत लिने फर्मको सङ्ख्या ५२ रहेको छ भने निरन्तर सेवा सञ्चालनमा रहेका केन्द्र दुई दर्जन छन् ।

सरकारको निर्देशनमा भएको अनुगमनका क्रममा सुनसरी मालपोतबाट सार्वजनिक सेवामा बाधा पुर्‍याएको भन्दै प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो । सोही पक्राउको विरोधमा भू-सेवा केन्द्र र लेखापढी फर्ममा आबद्ध व्यवसायी आन्दोलनमा उत्रिँदा कार्यालयको सेवा नै प्रभावित भएको हो । प्रहरीले सुनसरी मालपोत र यातायात कार्यालय इटहरीबाट गरी १८ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैको हकमा प्रहरीले पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।