• १५ पुस २०८२, मङ्गलबार

उम्मेदवारका आकाङ्क्षी गाउँमा, मतदाता विदेशमा

blog

नेपाली कांग्रेस पार्टीको कार्यकर्ता भेटघाट कार्यक्रम ।

बाजुरा समाचारदाता

बाजुरामा, पुस १५ गते । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि सरकारले निर्वाचन घोषणा गरेसँगै अहिले दलका नेता तथा कार्यकर्ता गाउँबस्तीमा जनतासँग भेटघाटमा व्यस्त देखिएका छन् । 

प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै यतिबेला नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र (रास्वपा) लगायतका पार्टीका नेता तथा कार्यकर्ता विभिन्न गाउँबस्तीमा जनतासँग भेटघाट कार्यक्रममा व्यस्त देखिएका हुन् । बाजुरामा नेपाली कांग्रेस तथा नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । 

कांग्रेसले रामसिंह रावल, कविराज पण्डित, जनकराज गिरी, जगतजङ्ग बम, गुरुदेव केसी सुमन र योगेन्द्र रावल गरेर छ जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ । 

राष्ट्रिय सभामा निर्मलाकुमारी रावल कार्की, विद्यादेवी तिमिल्सेना, महाँ नेपाली, राधिका सिंह र सुनिता गुरुङलाई सिफारिस गरिएको छ । त्यसै गरी प्रतिनिधि सभाको समानुपातिकमा देवराज जोशी र खम्बहादुर खाती सिफारिस गरिएको नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले एक जनाको नाम मात्र केन्द्रमा पठाउने गरेर पदाधिकारी तथा सबै सदस्यको जिल्ला भेला गरेका थियौँ । त्यो भेलामा धेरै जना आकाङ्क्षी देखिएपछि अहिले आकाङ्क्षी देखिएका ती सबैको सिधै केन्द्रमा सिफारिस गरिएको हो ।”

नेपाल कम्युनिस्ट पार्टीले पनि पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको छ । जसमा प्रतिनिधि सभा सदस्यका लागि प्रकाशबहादुर शाह, समानुपातिकमा पिछडिएको क्षेत्रबाट हिक्मतबहादुर शाही, दलित तथा महिलाका क्षेत्रबाट विनिता विक, अपाङ्ता भएकाबाट सञ्जय कट्टेल र राष्ट्रिय सभामा अजय मल्ल गरेर पाँच जनाको नाम सिफारिस गरिएको सो पार्टीका नेता कर्णबहादुर विकले बताउनुभयो । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उम्मेदवारका लागि छनोट प्रक्रिया गरिरहेको नेता नवराज जैसीले बताउनुभयो । 

नेकपा (एमाले) बाजुराले भने केही दिनमै उम्मेदवार तय गर्ने जिल्ला कमिटी बाजुराका सचिव काशी विकले बताउनुभयो । राजनीतिक दलहरूले आफ्नो पार्टीका कार्यक्रम विशेष रूपमा गाउँबस्तीमा गर्दै आए पनि मतदाता भने अहिले धमाधम विदेश जान थालेका छन् । कार्यक्रममा गाउँमा रहेका बुढापाका, महिला तथा बालबालिका देखिने गरेको भए पनि युवाको सहभागिता भने खासै देखिएको छैन । रोजागारीका सिलसिलामा सबै विदेश गएकाले अहिले गाउँमा हुने गरेका पार्टीका कार्यक्रममा युवाको कम हुने गरेका हुन् ।