साहारा लिम्बू
फुङलिङ, पुस १५ गते । दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ र आयोजक ’बी’ भिड्ने भएका छन् । तमु ल्होसार पर्व २०८२ को अवसरमा फुङ्लिङस्थित लक्ष्मीटारमा मङ्गलबार हुने फाइनल खेलमा साथीभाइ र आयोजक भिड्ने भएका हुन् ।
सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ पुलिस क्लबविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै साथीभाइ फाइनल पुगेको हो । यस्तै अन्तिम सेमिफाइनल खेलमा आयोजक ‘बि’ ले टाइब्रेकरमा गोर्खाली स्पोर्टिङ क्लब मेलुङलाई पराजित गरी आयोजकले फाइनलमा साथीभाइसँगकोे भेट पक्का गरेको छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख १५ हजार रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले भने नगद ५५ हजार रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्ने छ । फुटबल प्रतियोगिताको फाइनल खेलसहित अन्य विविध कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
मङ्गलबार फुङ्लिङ बजारदेखि निङ्मा छ्यो खोर्लिङ बौद्ध गुम्बासम्म शान्ति र्याली हुनेछ भने दिउँसो गुम्बामा पूजापाठ गरी फुटबल खेलको समापनसहित साँझ भव्य सांस्कृतिक कार्यक्रम हुने आयोजक ताप्लेजुङ स्पोर्टिङ क्लबले जानकारी दिएको छ ।